arin enterprises

२१औं ज्यापु दिवस हर्षाेल्लासपूर्वक मनाइयो

SamacharDesk – राम डंगोल | २०८१ मङ्सिर ३०, आइतबार

२१ औँ राष्ट्रिय ज्यापु दिवस देशभरका ज्यापू समुदायले आज हर्षोल्लासका साथ मनाएका छन् ।

यःमरी पुन्हिका दिनमा मनाइँदै आइरहेको ज्यापू दिवस नाथेश्वर छुट गुथि वटुटोलको संयोजकत्वमा वटुटोलबाट र्याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो । “पुर्खाको सम्झना, हाम्रो संस्कृति, हाम्रै परम्परा” यो वर्षको नारा रहेको छ ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र्यालीको समुद्घाटन गर्नुभएको थियो ।  नेवारी परम्परागत बाजा, धुन्याँ तथा झाँकीका साथ अगाडि बढेको र्याली नगर परिक्रमापछि वसन्तपुरमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रम ज्यापु संस्कृति विकास कोषको आयोजनामा भएको हो ।

कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले परिश्रम गर्नेलाई कदर गर्न जान्नुपर्ने बताउनुभयो ।

उहाँले समाजमा परिश्रम गर्नेहरुलाई हेर्ने दृष्टिकोणमा परिवजर्तन जरुरी रहेको बताउनुभयो । किसानलाई समाजमा सम्मान र कदर गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले नेवार समुदायभित्र पनि विभिन्न समुदायका पर्वहरुको आ–आफ्नै महत्व रहेको बताउनुभयो ।

उनले देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न जुटेर अघि बढ्नुपर्ने बताइन् ।

ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ विसं २०६१ सालदेखि यःमरी पुन्ही सँगसँगै उपत्यका लगायत देशभरका ज्यापू समुदायहरुले राष्ट्रिय ज्यापू दिवसलाई पर्वकै रुपमा मनाउँदै आएको छ ।

नेपाल भाषामा “ज्या” भनेको काम र “पू” भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो ।

नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता समेत दिएको छ ।

विक्रम संवत् २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो ।

Categorized in राष्ट्रिय