arin enterprises

नृसिंहहरुले गरे रूद्री पाठ

SamacharDesk – बिराज | २०७८ भाद्र १९, शनिबार

राजोपाध्याय समाजले आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्री कार्यक्रम आज उपत्यकाका तीनै शहरमा सम्पन्न भएको छ ।

समाजले गएको महिनाबाट शुरु गरेको मासिक पञ्चाभिषेक रूद्री कार्यक्रम अन्तर्गत यस महिनाको पाठ आज पनि उपत्यकाका तीनै शहरमा एकै दिन एकै समयमा गरिएको हो ।

काठमाडौंमा मखनस्थित महिन्द्रेश्वर महादेव, ललितपुरमा मंगलबजारस्थित विश्वनाथ महादेव र भक्तपुरमा टौमढी नारायणचोकस्थित तिलेश्वर महादेवस्थानमा पाँच जना राजोपाध्याय देव ब्राम्हणहरुबाट रूद्री पाठ गरिएको थियो ।

गएको सातामात्रै ललितपुरकाे उपाकर्म गुठीबाट नृसिंह जात्रा सम्पन्न गरेका देव ब्राम्हणहरुबाट भएको आजको रूद्री पाठमा तीनवटै शहरमा सोही नृसिंह जात्राका पूर्व नृसिंहहरुले समेत पाठ गरेका थिए ।

२०६४ सालमा नृसिंह बनेका काठमाडौं ढोकाटोल निवासी सुशील राजोपाध्याय र २०६९ सालमा नृसिहं बनेको काठमाडौं वटु टोल निवासी किशोर राजोपाध्यायले काठमाडाैंकाे महिन्द्रेश्वर महाेदवस्थानमा रूद्री पाठ गरेका थिए ।

त्यस्तै ललितपुरको रूद्री पाठमा २०७६ सालमा नृसिंह बनेका ललितपुर पिम्बहाल निवासी महेशबाबु शर्मा राजोपाध्यायले र २०७४ सालको जात्रामा नृसिंह बनेका भक्तपुर खाइसिमाचुकका अन्जन राजोपाध्यायले भक्तपुरमा रूद्री पाठ गरेका थिए ।

विश्वभरी कोरोना महामारीको अवस्थामा राजोपाध्याय समाजले महामारीबाट मुक्ति र समग्र मानव समाजको सुस्वास्थ्यको कामनासहित गएको महिनाबाट पञ्चाभिषेक रूद्री पाठ कार्यक्रमको शुरुवात गरेको हो ।

समाजले शिवबास गरी हरेक महिना उपयुक्त दिनमा एकै दिन एकै समय उपत्यकाको तीनवटै शहरमा रूद्री पाठ गर्ने जनाएको छ ।

महोदवका पाँच वटा मुखमध्ये एक ब्राम्हणले एक मुखलाई अभिषेक गर्दै पाँच ब्राम्हणबाट पाठ गर्ने गरी पञ्चाभिषेक रूद्री कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनुभयो ।

Categorized in संस्कृति