arin enterprises

पत्रकार दबूबाट तीन महिला पत्रकार सम्मानित

SamacharDesk – केके मानन्धर | २०७८ फाल्गुण २३, सोमबार

नेवाः पत्रकार राष्ट्रिय दबूको महिला विभागले तीन जना वरिष्ठ महिला पत्रकारहरुलाई सम्मान गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सम्पन्न भएको कार्यक्रममा महिला पत्रकारहरुलाई सम्मान गरिएको हो ।

आआफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएबापत सञ्चारकर्मीहरु मञ्जु बज्राचार्य, अनिता गुरुङ र पूर्णिमा शाक्यलाई सम्मान गरिएको हो । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सम्मानित महिला पत्रकारहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताए ।

समावेशी संविधानले महिलालाई पनि नीतिगत र नेतृत्व तहमा ठाउँ दिएको हुनाले महिला र पुरुष हातेमालो गरी सँगसँगै अगाडि बढ्नुपर्ने मेयर शाक्यले बताए ।

त्यस्तै, महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अझै पनि महिलाहरु चुल्होमै सीमित हुनु परेको हुनाले सोचे बमोजिमको प्रगति हुन नसकेको गुनासो गरिन् ।

‘म राजनीतिकर्मी, बिहान ७ बजे निस्किनु परे पाँचै बजे उठेर भात पकाएर, परिवारलाई खुवाएर जानुपर्ने बाध्यता छ । पुरुषहरु जस्तै तयार भएको ब्रेकफास्ट खाएर जाने हो भने उहिल्यै महिला प्रधानमन्त्री भइसके होलान्’ उपप्रमुख श्रेष्ठको भनाइ हाे ।

त्यस्तै, वरिष्ठ पत्रकार शुभेच्छा विन्दु तुलाधरले शताब्दी पुरानो नेपाली पत्रकारितामा पचासौं वर्षपछि मात्र महिला पत्रकारहरु सक्रिय भएको बताइन् ।

१९५५ मा नेपालमै छापिएको सुधासागर नामक पत्रिकाबाट सुरुआत भएको नेपाली पत्रकारितामा २००८ सालमा मात्र साधना प्रधानले कामक्षदेवीसँग मिलेर आफ्नै सम्पादनमा पत्रिका छपाएकी थिइन् ।

नेपाल पत्रकार महासंघले विधानलाई संशोधन गरेर समावेशी बनाएपनि महिला पत्रकारहरु निर्णायक तहसम्म पुग्न नसकेकोमा तुलाधरले गुनासो गरिन् ।

वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङले पत्रकारितामा पुरुषले जस्तै महिलाले पनि समान रुपमा श्रम गर्ने हुनाले त्यसमा विभेद गर्न नहुने धारणा राखिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, वरिष्ठ सञ्चारकर्मी मञ्जु बज्राचार्य, पत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्य, सहसचिव प्रेरणा शाक्यलगायतले आआफ्ना विचार राखेका थिए ।

Categorized in समाज