सुनाकोठीमा ३ सय वर्ष पुरानो बालकुमारीको मूर्ति चोरी
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ ९, आइतबार

ललितपुरको दक्षिणी भेगमा अवस्थित लिच्छवीकालीन प्राचीन वस्ती सुनाकोठीको बालकुमारी मन्दिरमा अवस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । सुनाकोठीमा अवस्थित मल्लकालीन बालकुमारीको मूर्ति चोरी भएको हो ।
करीब ३ सय वर्ष पुरानो बताइएको पित्तलको मूर्ति शनिबार राति चोरी भएको हो । राति करीब १२ बजेसम्म मानिसहरु मन्दिरमै भएको र उक्त सयमसम्म चहलपहल नै रहेकोले रातिको करीब १ वा २ बजेतिर चोरी भएको हुनसक्ने स्थानीयले बताएका छन् ।
२ फिट अग्लो र डेढ फिट चौडाईको उक्त मूर्तिसँगै स्थानीय भक्तजनले चढाएको गरगहना समेत चोरी भएको बताइएको छ ।
मन्दिरमा प्रवेश गर्न चारवटा ढोका पार गर्नुपर्थ्याे भने त्यहाँ ९ वटा ताला लगाइएको थियो । सबै तालाहरु फोडेर मूर्ति चोरी भएको प्रहरीले जनाएको छ ।
चैत्र महिनामा शुक्ल त्रयोदशीदेखि पुर्णिमासम्म सुनाकोठीमा यस बालकुमारी देवीको जात्रा हुने गर्दछ । यस जात्रालाई सुनाकोठीकै सबैभन्दा ठुलो जात्राको रुपमा लिइन्छ ।
सुनाकोठी बस्तीभित्रै अवस्थित यस बालकुमारी देवीलाई छोरी मानिन्छ भने बालकुमारी चौरमा अवस्थित बालकुमारीलाई आमा मानिन्छ ।
प्रहरीले घटनाको सम्वन्धमा अनुसन्धान र मूर्तिको खोजी कार्य शुरु भएको बताएको छ । हाल शंकास्पद व्यक्तिहरुमाथि अनुसन्धान र सोधपुछ भइरहेको प्रहरीको भनाई छ ।
Categorized in अपराध