arin enterprises

प्रतिवन्धित रेडबुल बिक्री बितरण गर्ने पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ श्रावण ६, बुधबार

काठमाडौंको विभिन्न स्थानबाट प्रतिवन्धित क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ रेडबुल विक्री वितरण गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् ।

न्यूरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट निलो कलरको रेडबुल बिक्री बितरण गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका बबरमहल बस्ने न्यूरोडको प्रणव स्टोर सञ्चालक ४४ वर्षीय रबिनराज श्रेष्ठ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० निलो पुल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका–३ का शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ वर्षीय धन बहादुर श्रेष्ठ रहेका छन् ।

त्यस्तै रेडबुल ओसारपसारमा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका–११ गोंगबु बस्ने बाँके कोहलपुर नगरपालिका–९ का ३६ वर्षीय राजु पौडेल र काठमाडौं गोठाटार बस्ने सर्लाही हरिपुर नगरपालिका–१ का ३६ वर्षीय वीरेन्द्र चौधरीलाई पनि पक्राउ गरिएको छ ।

प्रहरीले उनीहरुको साथबाट २ सय २ वटा कार्टुनमा रहेको ४ हजार ८ सय ४८ थान रेडबुल पनि बरामद गरेको छ ।

त्यसमध्ये रबिनराजको स्टोरबाट ५९ कार्टुन, धन बहादुरको स्टोरबाट ५९ कार्टुन र बा. २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखी बिक्री वितरण गरिरहेको अवस्थामा नयाँवस्ती गोठाटारबाट ८४ कार्टुन रेड बुल बरामद भएको हो ।

काठमाडौंका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित रेडबुल ल्याई बिक्री बितरण गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई बरामद गरिएको सामानसहित आवश्यक कारवाहीको लागि भन्सार बिभाग पठाइने महाशाखाले जनाएको छ ।

२०७६ असार २ मा प्रकाशित राजपत्र भाग ५ को सूचना १ को प्रकरण ४ को (ढ) बमोजिम क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थको साथमा फ्लेवर्ड सिन्थेटिक पेय पदार्थ र यस्तै प्रकारका पेय पदार्थहरूको बिक्री वितरणलाई पूर्णरुपमा बन्देज गरेको छ ।

Categorized in अपराध
SKIP THIS Maharjan Complex