ल्हासाबाट ४ थान भेन्टिलेटर काठमाडौं आइपुग्यो
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ १, शनिबार

काठमाडौँ महानगरपालिकालाई भगिनी सहर तिव्वतको ल्हासा नगरले भीजी ७० मोडेलका ४ थान भेन्टिलेटर सहयोग स्वरुप पठाएको छ । ती सामाग्रीहरु बैशाख ३१ गते महानगरमा आइपुगेका हुन् ।
बैशाख २७ गते ल्हासाबाट सडक मार्ग हुँदै पठाइएको सामान ३० गते तातोपानी भन्सारमा पुगेको थियो ।
भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल र लाञ्जाउका लागि काठमाडौँ महानगरका अवैतनिक महावाणिज्यदूत किशोर बस्नेतले भन्सारबाट सामान बुझेर ३० गते राती महानगरसम्म ल्याउनुभएको थियो ।
३१ गते उहाँहरुले महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई सामाग्री बुझाउनुभएको छ ।
‘ल्हासा र काठमाडौँको आत्मीय भगिनी सम्बन्ध छ । गएको बर्ष पनि ल्हासाले काठमाडौँलाई कोभिड परीक्षणका लागि न्युक्लेइक एसिड एट्राक्सन मेसिन, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट, भिटीएम, आरडीटी र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) लगायत सामाग्री र उपकरण सहयोग गरेको थियो’ भेन्टिलेटर बुझिसकेपछि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो ।
ज्ञवालीले प्राप्त सामाग्री कसरी उपयोगमा ल्याउने भन्ने विषयमा छिट्टै निर्णय हुने बताउनुभयो ।
महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेकाअनुसार भगिनी सम्बन्ध भएका चीनका लाञ्जाउ, छेन्दु, नान्जिनलगायत नगरहरुले पनि सहयोगको इच्छा व्यक्त गरेका छन् ।
जापानको मात्सुमोतो, कोरियाको सियोल महानगरलगायत भगिनी सम्बन्ध भएका नगर र सिटी नेटलगायत संस्थागत सदस्यता लिएका सञ्जालले महामारीसँग जुध्न उपकरण उपलब्ध गराउने इच्छा देखाएको काफ्लेले बताउनुभयो तर, हवाइ यातायात सञ्चालन नभएका कारण सामान ल्याउन कठिन भएको उहाँको भनाई छ ।
अवैतनिक महावाणिज्यदूत वस्नेतकाअनुसार ल्हासाबाट पठाइएका भेन्टिलेटरको मूल्य ८ लाख आरएमबि (करीब १ करोड ५० लाख रुपैयाँ) हो ।
Categorized in स्थानीय