बडादशैंकाे चाैथाे दिन, चाडकाे चहलपहल बढ्दाे
SamacharDesk – बिराज | २०८० कार्तिक १, बुधबार

आज आश्विन शुक्ल चतुर्थी, बडादशैंको चौथो दिन । आज पनि सबैको दशैं घर वा आगम घरमा घटस्थापनाको दिन स्थापना गरिएको कलश र दुर्गा माताको प्रतिमालाई पूजा उपासना गर्ने क्रम जारी छ ।
नेपालकै सबैभन्दा ठुलो चाडको रुपमा बडादशैंको क्रममा राजधानीको भद्रकाली, नरदेवी, दक्षिणकाली, नक्साल भगवाती लगायत देशैभरीका शक्तिपीठमा शक्तिको दर्शन र उपासना गर्नेको भीड लागेको छ ।
फुलपाती नजिकिँदै गएसँगै एकातिर बजारमा चाडकाे लागि किनमेल गर्नेकाे भीड बढ्न थालेकाे छ भने सधैं व्यस्त रहने काठमाडौंका सडकहरुमा भीड पातलिन थालेको छ ।
काठमाडौंलाई कर्मभूमि बनाएकाहरु चाड मनाउन घर फर्किने क्रम बढेसँगै काठमाडौंको सडकमा भीड पातलिन थालेको हो ।
तर घर फर्किनेको ठुलो संख्यासँगै काठमाडौंका मुख्य सडक साथै काठमाडौंबाट बाहिरिने सडकहरुमा जाम बढ्न थालेको छ ।
नवरात्रको सातौं दिन, कुष्माण्डाको उपासना गरिँदै
शारदीय नवरात्रको चौथो दिन अर्थात आश्विन शुक्ल चतुर्थी, आज माता कुष्माण्डाको जप, ध्यान, स्तोत्र पाठ तथा पूजा अर्चना गर्ने गरिन्छ ।
सृष्टिको रचना गर्ने आदि–स्वरूपा, आदिशक्ति देवी हुन् कुष्माण्डा । आफ्नो मन्द मुस्कानबाटै अण्ड अथवा ब्रह्माण्डको रचना गरेकी हुनाले दुर्गाको यस स्वरूपलाई कूष्माण्डा भनिएको हो ।
चन्द्रशेखर महादेवसँग विवाह गरेपछि चन्द्रघण्टाले महादेवसँगै तन्त्र दिक्षा लिइन् र यिनी आदिशक्तिको रुप धारण गरी कुष्माण्डा भइन् ।
यिनलाई अष्टभुजा देवी, आदि–स्वरूपा वा आदिशक्ति नामले पनि पुकार्ने गरिन्छ । सिंहमा विराजमान यिनको बासस्थान सूर्य मण्डल भित्रै रहेको छ ।
सुर्यको समान कान्ति तथा चमक भएकी कूष्माण्डा देवीको आराधना गर्नाले आयु, यश, बल तथा आरोग्य पाइने विश्वास गरिन्छ ।
अष्टभुजा भएकी यिनले एक हातमा अष्टसिद्धि तथा नवनिधि प्रदान गर्ने जपमाला, अन्य सात हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलको फूल, अमृतपूर्ण कलश, चक्र र गदा धारण गरेकि छिन् ।
तीन नेत्र भएकी यि देवीले आफ्नो मस्तकमा अर्धचन्द्रको साथमा शरीरमा नाना अलंकार धारण गरेकी हुन्छिन् ।
हुन त माता कुष्माण्डालाई श्रद्धाभक्तिले अर्पण गरिएको सबैप्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ, विशेषगरि सेतो वस्तुको परिकार भने अधिक प्रिय छ । साथमा कुभिण्डोको बलिलाई निकै मन पराउनुहुन्छ ।
कुण्डलिनी जागरणको क्रममा नवरात्रको चौथो दिनमा साधकले कुष्माण्डा देवीको ध्यान गर्दै अनाहत चक्रमा प्रवेश गर्ने गर्छन् ।
Categorized in संस्कृति