कार्तिक नाचलाई ५० लाखको चेक हस्तान्तरण
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ पौष २५, शनिबार

ललितपुरको प्रशिद्ध कार्तिक नाचको अक्षय कोषको लागि ललितपुर महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गरेको छ ।
ललितपुरको मंगलबजारमा आयोजित यस वर्षको कार्तिक नाच समापन समारोहमा महानगर प्रमुख महर्जनले कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
समारोहमा बोल्दै महानगर प्रमुख महर्जनले लतिलपुरका मूर्त अमूर्त सम्पदाको संरक्षणका लागि आफुहरु लागिपरेको दावी गर्नुभयो । ७२ सालको भुकम्पले क्षतिग्रस्त लतिलपुर महानगर भित्रका मठ मन्दिर लगायतका सम्पदामध्ये प्रायको पुनर्निर्माण भइरहेको र कत्तिको पुनर्निर्माण सम्पन्न भइसकेको महर्जनले बताउनुभयो ।
कार्तिक नाचलाई व्यवस्थित र दीगो बनाउन कार्तिक नाच संरक्षण समितिले आउँदो ५ वर्षभित्रमा १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उक्त अक्षय कोषमा महानगरपालिकाबाट १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सोही प्रतिवद्धता अनुसार महर्जनले आज ५० लाख रुपैयाँ प्रदान गर्नुभएको हो ।
नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनिल महर्जनले नगरको पहिचान दिने, नगरको शान भनेकै यहाँका मूर्त अमूर्त सम्पदाहरु भएको भन्दै यस्ता सम्पदाको संरक्षणका लागि सरोकारवाला निकायले कन्जुस्याईँ गर्न नहुनेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई खादा ओढाई बधाई तथा शुभकामना दिइएको थियो ।
कार्यक्रममा कार्तिक नाचको लागि बराहको मुकुट, नरसिंहको मुकुटको साथमा आर्थिक सहयोग समेत गरेका ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्यलाई सम्मान स्वरुप (मायाको चिनो प्रदान गरिएको थियो ।
Categorized in संस्कृति