काठमाडौं महानगरको ३२ वटै वडाबाट ५० वर्ष माथिकालाई खोप दिइने
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण १३, बुधबार

५० बर्ष माथिका नागरिकलाई खोप लगाउन काठमाडौँ महानगरका ३२ वटै वडामा खोप केन्द्र राखिने भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा आज बसेको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले काठमाडौँ जिल्लाका अन्य नगरमा सम्भव भएसम्म नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राख्ने निर्णय गरेको छ ।
यसैगरी अत्याबश्यक सेवाका व्यक्तिका लागि राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, टिचिङ् अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल केन्द्र तोकिएको छ ।
फरक क्षमता भएका व्यक्तिका लागि भेरोसेल खोप लगाउने कार्यक्रमअन्तर्गत खोप सञ्चालन हुने समयमा नजिकको खोप केन्द्र वा अन्य पायक पर्ने ठाउँमा सञ्चालन गर्ने निर्णय भएको छ ।
बैठकले जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारीको संयोजकत्वमा ६ सदस्यीय खोप अनुगमन समिति गठन गरेको छ ।
समितिमा जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, सशस्त्र प्रहरी वल, जिल्ला स्वास्थ्य कार्यालय र काठमाडौँ महानगरको प्रतिनिधित्व रहने छ ।
Categorized in समाज