नवरात्रको छैठौं दिन, कात्यायनीको उपासना हुँदै
SamacharDesk – बिराज | २०८० कार्तिक ३, शुक्रबार

आज आश्विन शुक्ल षष्ठी, नेपालीहरुको महान चाड बडादशैंको छैठौं दिन । नवरात्रको छैठौं दिनमा नवदुर्गाको छैठौं रुप कात्यायनी भगवतीको उपासना गरिँदैछ ।
दुर्गा भवानीको छैठौं रुप कात्यायनी भगवती हो । कात्यायन ऋषिले पुत्री प्राप्तिको लागि भनेर कठिन तपस्या गरेपछि महर्षिको घरमा पुत्रीको रूपमा जन्म लिएकी भगवती पराम्बाको रुप नै कात्यायनी देवी हो ।
कात्यायनीको भक्ति गर्नाले अर्थको साथमा धर्म प्राप्त हुनुका साथै मोक्ष प्राप्त जनविश्वास रहेको छ ।
चम्किलो एवं ज्योतिर्मय स्वरूपमा चार भुजा भएकी यिनको दाहिने तर्फ माथिल्लो हात अभय मुद्रामा छ भने तल्लो हात वरद मुद्रामा छ । त्यस्तै बायाँतर्फ माथिल्लो हातमा खड्ग र तल्लो हातमा कमलको फूल धारण गरेकी छिन् ।
सिंहमा विराजमान यी देवी ब्रजमण्डलकी अधिष्ठात्री हुन् । अत्यन्त भव्य र दिव्य स्वरुपकी यिनी स्वर्ण वर्णकी छिन् ।
शारदीय नवरात्रको छैठौं दिन साधकले आज्ञा चक्रमा आफ्नो ध्यान केन्द्रीत गरी कात्यायनीको पूजा उपासना गर्ने गर्दछ ।
राजधानी सुनसान, गाउँघरमा चहलपहल
यसको साथमा सबैले आआफ्नो दशैं घर वा आगम घरमा घटस्थापनाको दिनमा स्थापना गरिएको कलश, जमरा र दुर्गा भवानीको प्रतिमाको पूजा अर्चना पनि गरिरहेका छन् ।
त्यसैगरी राजधानीको नरदेवी, रक्तकाली, गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, विज्येश्वरीको साथमा ललितपुरको पूर्णचण्डी, फर्पिङको दक्षिणकाली, धरानमा दन्तकाली लगायत देशैभरीका शक्तिपीठहरुमा दर्शन र पूजा अर्चना गर्नेको भीड लागेको छ ।
फुलपातीको अघिल्लो दिनसम्म आइपुग्दा राजधानीका सडकहरु खाली देखिन थालेका छन् । राजधानीलाई कर्मभूमि बनाएका मोफसलवासीहरु चाड मनाउन आआफ्नो घर गएसँगै काठमाडौंको सडक खाली हुन थालेको हो ।
यसैसँगै अरुबेला सुनसान देखिन गाउँघरकम भने अहिले चाडमा अहिले चहलपहल देखिएको छ ।
Categorized in संस्कृति