arin enterprises

काष्ठमण्डपको ७० प्रतिशत पुनर्निर्माण सम्पन्न

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण १०, शनिबार

ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा आज काष्ठमण्डपको धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । 

धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंगको रुपमा लिइन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः)या गुर्जु यज्ञमानपति वज्राचार्यको नेतृत्वमा वज्रयानी परम्परा अनुसार पूजा भएको हो । 

पूजामा जजमानका रुपमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेशसभाका सांसद एवं पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यको साथमा उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धर बस्नुभएको थियो ।

धलिं पूजापछि काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले प्रत्येक वर्षको वजेटमा मुर्त–अमुर्त सम्पदाको संरक्षण तथा संम्वद्र्धनका लागि उल्लेख्य मात्रामा बजेट विनियोज गर्दै आएको बताउनुभयो । 

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ९० बढी शीर्षकमा संम्पदाको संरक्षण र पुर्ननिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट बिनियोजन गरेको छ । 

पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले काष्ठमण्डप पुर्ननिर्माणको करीब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । काष्ठमण्डपको पुनर्निर्माण वि.सं. २०७५ वैशाखबाट सुरु भएको हो । 

लकडाउनका बेला पनि कामलाई निरन्तरता दिएको शाक्यको भनाई छ । 

‘अब दोस्रो तलाको मुख्य दलिन उठाउन र तेस्रो तला बनाउन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘हामी समयमै पुर्ननिर्माण सम्पन्न गरेर नयाँ सन्देश दिन चाहन्छौँ ।’

उहाँले महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुर्ननिर्माण गरिरहेको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेको काष्ठमण्डप निर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा ५० लाख, दोस्रो र तेस्रो चरणमा पाँच–पाँच करोड दिइसकेको छ ।

प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको थियो ।

Categorized in स्थानीय