arin enterprises

मानन्धर संघको सातौं इहि मुना कार्यक्रम सम्पन्न

SamacharDesk – समाचारः केके मानन्धर | २०७९ माघ २५, बुधबार

केन्द्रीय मानन्धर संघको आयोजनामा इहि मुना कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । संघले सांस्कृतिक परम्परालाई निरन्तरता दिनको लागि भन्दै सातौं पटक इहि मुना कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेवार समुदायभित्रका १७ जना बालिकाहरुको सहभागीता रहेको छ ।

कालिमाटीस्थित लुमन्ति घरको सभाहलमा मंगलबारदेखि सुरु भएको इहि मुना कार्यक्रम २५ गते बुधबार सम्पन्न गरिने कार्यक्रम रहेको छ ।

इहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ । नेवार समुदायभित्र प्रत्येक बालिकालाई ५ वा ७, बिजोर वर्षमा यो संस्कार अनिवार्य गराउनैपर्ने प्रचलन रहेको छ ।

कार्यक्रममा सहभागी एक अग्रजले श्रीमानको मृत्युपछि श्रीमती पनि सती जानुपर्ने प्रथालाई उन्मुलन गराउनको लागि बेलसँग सांकेतिक रुपमा विवाह गरिदिने प्रचलन सुरु गरिएको तर्क गरे ।

त्यस्तै तत्कालीन नेपाल खाल्डोमा मुसलिम बादशाह समसुद्दीनले आक्रमण गर्दा अविवाहित नारीहरुलाई अपहरण गरेर लग्ने गरिँदा कुमारी कन्याहरुलाई बचाउन बेलसँग विवाह गरिदिने चलन सुरु गरिएको पनि विज्ञहरु बताउँछन् ।

Categorized in संस्कृति