रुद्रलाल समाजेवा पुरस्कार ८० वर्षे मोक्तानलाई
SamacharDesk – बिराज | २०७९ पौष २५, सोमबार

प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ योगदान दिएको भन्दै ८० वर्षे मनु मोक्तानलाई रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ ।
आइतबार गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी–रुद्रलाल स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मोक्तानलाई पुरस्कारबाट सम्मान गरिएको हो ।
कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष अनुपराज शर्माले मोक्तानलाई सम्मान गरेका थिए ।
मोक्तानको अस्वस्थताका कारण उनको सम्मान नेपाल तामाङ घेदुङ संघका अध्यक्ष मोहन गोलेले ग्रहण गरेका थिए ।
सोही कार्यक्रममा गैरसरकारी संस्था महासंघका सल्लाहकार एवम् प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीद्वारा लिखित अंग्रेजी पुस्तक रिलेन्टलेस जर्नीको पनि लोकार्पण गरिएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व प्रधान न्यायधिश शर्माले नेपाल वृद्धाश्रमको रुपमा परिणत हुन लागेको र नेपाली परिवारलाई आर्थिकभन्दा पनि सामाजिक चुनौति बढी देखिन थालेको बताए ।
वरिष्ठ मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठले राणाकाल, पञ्चालतकाल र प्रजातान्त्रिक कालमा मुल्मी परिवारले सामाजिक कार्यमा दिएको योगदानको चर्चा गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंह, नेपाल मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधान, अमेरिकाका लागि नेपालका पूर्व राजदुत डा.अर्जुन कार्की, पुस्तकका लेखक शान्तलाल मुल्मीलगायतले मन्तव्य राखेका थिए ।
Categorized in समाज