arin enterprises

मानन्धर संघमा ८८ वर्षिया सुवर्णमानको नेतृत्व

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ बैशाख १६, आइतबार

केन्द्रीय मानन्धर संघको ३३ र ३४ औं संयुक्त साधारणसभाले सुवर्ण मान मानन्धरलाई सभापति छनोट गरेको छ । काठमाडौंको थँहिटी मानन्धर गुठीका अध्यक्ष ८८ वर्षिया मानन्धरलाई दुई वर्षे कार्यकालको लागि सर्वसम्मत छनोट गरेको हो ।

संघका सभापति बाहेक कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरू ४ वर्षको लागि निर्वाचित हुने वैधानिक व्यवस्था छ । त्यसैले सभापतिको लागि निर्वाचन भएपनि संघका अन्य पदाधिकारीहरुको लागि आगामी अधिवेशनमा मात्र निर्वाचन हुनेछ ।

त्यस्तै, विभिन्न सांस्कृतिक गतिविधिलाई नेतृत्व दिन र नेपाल सरकारको गुठी संस्थान तथा अन्य प्रशासनिक निकायसँग समन्वय गर्न धालासिक्व मानन्धर सनाः खलःबाट न्हयसः नायः सदाबहार कार्यसमितिको पदाधिकारी रहने व्यवस्था छ ।

काठमाडौंमा सम्पन्न कार्यक्रममा बारा जिल्लाको प्रसौनी मानन्धर गुठीलाई प्रतिनिधित्व गरेर संघमा सभापति भएका मनोज कुमार मानन्धरको कार्यावधि सकिएकोले नयाँ सभापतिको लागि निर्वाचन भएको हो ।

केन्द्रीय मानन्धर संघ २०१० माघ १० गते काठमाडौंको दैसाः तःबही टोलका देवीदास मानन्धरले तत्कालीन काठमाडौंका मानन्धरहरुलाई समेटेर संघ गठन गरेका थिए ।

संघमा पूर्वको धरानदेखि पश्चिमको स्याङ्जासम्म विभिन्न टोलमा सघन बसोबास गर्दै आएका मानन्धरहरुको ५८ वटा समूह आवद्ध रहेको छ ।

Categorized in समाज