एपीएफ अस्पतालमा डायलाईसिस सेवा शुरु
SamacharDesk | २०८० बैशाख २७, बुधबार

नेपाल एपीएफ अस्पतालमा बुधबारदेखि डायलाईसिस सेवा शुरु भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्वुस्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलाईसिस सेवाकोे एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।
सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकारले जनस्वास्थ्य प्रति चासो राख्दै डायलाईसिस र मृगौला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय भएपछि शुरु भएको डायलाईसिस सेवाले नेपाल एपीएफ अस्पतालको विस्तार र विविधिकरणमा महत्वपुर्ण टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाल एपीएफ अस्पताललमा आईसियु तथा भेन्टीलेटरको सुविधा रहेको भएतापनि आपतकालिन अवस्थामा विरामीलाई डायलाईसिस सेवा दिनुपर्दा अन्य अस्पताल लैजानुपर्ने र विरामीको स्वास्थ्यमा जोखिम उठाउनुपर्ने बाध्यता लाई निराकरण गर्न यो सेवा प्रभावकारी एवं फलदायी रहने समेत बताउनुभयो ।
महानिरीक्षक अर्यालले अस्पतालमा डायलाईसिस सेवा विस्तारले सशस्त्र प्रहरी कर्मचारी, आश्रीत परिवारजन, अमर सशस्त्र प्रहरीका परिवारजन, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं परिवारजन, स्थानीयबासी लगायत आम सर्वसाधारण तथा विपन्न नागरिकहरुले पनि सेवा पाउने बताउनुहुदै नेपाल एपीएफ अस्पतालले कसैप्रति आग्रह पुर्वाग्रह नराखी कसैलाई पक्षपात नगरी उत्कृष्ट सेवा प्रदान गरी आम नागरिकको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा.रुपक महर्जनले नेपाल एपीएफ अस्पतालमा हाल ६ बेड क्षमताको डायलाईसिस सेवा सञ्चालनमा ल्याई आगामी दिनमा अन्य सेवा सुविधाहरु समेत विस्तार गरिदै लगिने बताउनुभयो ।
डायलाईसिस सेवा संचालनको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट ४ थान र शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट १ थान डायलाईसिस मेसिन प्राप्त भएको जनाइएको छ ।
Categorized in समाज