सातु र सर्वत दान एवं सेवन गरी अक्षय तृतीया मनाईंदै
SamacharDesk | २०७९ बैशाख २०, मंगलबार

सातु र सर्वत दान एवं सेवन गरी वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी संकल्प गरिन्छ ।
दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।
गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।
कोरोनाको जोखिम पूर्णरूपमा अन्त्य नभइसकेकाले सातु र सर्वतले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।
Categorized in राष्ट्रिय