arin enterprises

देशभर डेंगी संक्रमण भयावह

SamacharDesk | २०८० श्रावण १०, बुधबार

देशभर डेंगी संक्रमितको संख्या चार हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हाल देशभर चार हजार २८९ जना डेंगीका बिरामी रहेको जनाएको हो । महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ७५४ जना डेंगीका बिरामी रहेका छन् ।

त्यसमध्ये पनि धरानमा मात्रै बिरामीको संख्या दुई हजार माथि रहेको छ । यस्तै मधेश प्रदेशमा २२ जना, बागमती प्रदेशमा सात सय ७६ जना, गण्डकी प्रदेशमा ३४४ जना, लुम्बिनी प्रदेशमा १६६, कर्णाली प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा ३१६ डेंगीका बिरामी रहेका छन् ।

डेंगीबाट दश वटा जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र तीन हजार ६७१ बिरामी रहेका छन् । सुनसरी दुई हजार ५४२, धादिङमा ४०१, कास्कीमा २०५, दार्चुलामा १९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दी ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा ३८ जना बिरामी रहेका छन् ।

निरन्तरको वर्षा, सरसफाइको बेवास्ता र लामखुट्टेबाट जोगिने उपाय नगर्दा डेंगी फैलिन क्रम तीब्र भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले भदौ र असोजसम्ममा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको छ ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिकामा डेंगीको संक्रमणका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

धरानमा डेंगी रोगको संक्रमणले महामारीको रुप लिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगी अस्पताल संचालनमा ल्याएर उपचार सुरु गरेको छ ।

प्रतिष्ठानले डेंगी संक्रमित बिरामीको उपचार सशुःल्क र परीक्षण भने निःशुल्क गरेको जनाएको छ ।

डेंगीका मूख्य लक्षणहरू

- उच्च ज्वरो आउन
- जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
- आँखाको गेडी दुख्नु
- बेस्सरी टाउको दुख्नु
- शरीरमा राता बिमिराहरू आउनु
- वाकवाकी लाग्नु वा वान्ता हुनु

डेंगीबाट बच्ने उपायहरू

- एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
- आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र - लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
- बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
- पूरै शरिर ढाक्ने लुगा लगाउने ।
- पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
- काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
- घर/विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्करबेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
- कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।

डेंगीका लक्षणहरू देखिएमा के गर्ने ?

- स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
- घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।
- अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
(चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने)

Categorized in राष्ट्रिय