arin enterprises

डा. गोविन्द केसी मेडिकल गिरोहबाट संचालित : स्वास्थ्यमन्त्री बस्नेत

SamacharDesk | २०८० मङ्सिर ९, शनिबार

वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले लगाउनुभएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले सो कुरा बताउनु भएको हो ।

वरिष्ठ चिकित्सक केसीले बेलाबेलामा अनसन बस्ने कुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराउनु भयो । उहाँले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाहरुले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको मन्त्री बस्नेतको जिकिर थियो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘अहिलेको हिसावले हो भने ५ वर्ष पछि यो देशमा डाक्टर र नर्स पाइँदैन । र, मेरो प्रस्तावलाई कार्यान्वयन गर्न धेरै गाह्रो पनि छैन । यो प्रश्ताव अगाडि बढाउँदा डाक्टर, नर्सहरु संसार भर हामी पठाउन सक्छौं । अहिले हामीले कोरा व्यक्तिहरुलाई विदेश पठाईरहेका छौं ।

नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण हामीसँग हुँदाहुँदै पनि हामीमा बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकावमा लागेर हो ।

हामी हिँडिराखेका छौं । म यो पनि भन्छु–म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले । उहाँ बस्नु भएपछि तपाई फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नु हुन्छ ।’

त्यस्तै उहाँले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताउनुभएको छ । स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइनहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताउनुभएको हो ।

मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान जनशक्ति अपुग भएकाले त्यसको व्यवस्थापनको कामलाई पनि अघि बढाएको बताउनु भयो ।

Categorized in राष्ट्रिय