‘हो, दरवार हत्याकाण्ड भएको आजकै दिन हो’
SamacharDesk – राम डंगोल | २०८० जेठ १६, मंगलबार

हो, दरवार हत्याकाण्ड आजकै दिन भएको हो ।
तपाईँले भन्नुभयो, ‘हैन, आज त जेठ १६ हो, दरवार हत्याकाण्ड त जेठ १९ मा भएको हो, दरवार काण्ड भएको आज होइन ।’ हो तपाईँले ठिकै भन्नुभयो । दरवार हत्याकाण्ड जेठ १९ मा भएको हो । तर, दरवार हत्याकाण्ड भएको दिन आजै हो ।
तपाईँले भन्नुभयो, ‘हैन, के भन्छ यो, जेठ १९ पनि हो भन्छ, आज पनि हो भन्छ । दरवार हत्याकाण्ड दुई दिन भएको थियो र भने ?’ हैन, दरवार हत्याकाण्ड दुई दिन भएको थिएन, एकै दिन हो । दरवार काण्ड भएको आजै हो, तर जेठ १६ भने होइन ।
आज भन्दा २२ वर्ष पहिले २०५८ सालमा आजकै दिनमा नारायणहिति दरवार भित्र राजा वीरेन्द्रसहित उनका सम्पूर्ण परिवारको रहस्यमय हत्याकाण्ड भएको थियो । २२ वर्ष पहिले त्यो दिन थियो, २०५८ जेठ शुक्ल दशमीका दिनमा यो रहस्यमय हत्याकाण्ड हुन पुगेको थियो ।
त्यो दिन थियो गंगा दशहरा । हरेक वर्ष जेठ शुक्ल दशमीका दिन गंगा दशहरा पर्व मनाइन्छ । यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण गरेको विश्वास गरिन्छ । यस दिनमा नदि, पोखरी, तलाउ लगायतका जलाशयका पूजा अर्चना गर्नुका साथै भगवान शिवलाई जलाभिषेक गरिन्छ ।
कत्तिको घरमा यो दिनमा दश थरी तरकारीहरु राखेर भोज खाने गरिन्छ । राति कति परिवार भोज खाँदै गंगा दशहरा मनाउँदै थिए तर, थाहै भएन नारायणहिति दरवार भित्र त राजा वीरेन्द्रको वंशै नाश हुने गरी रहस्यमय हत्याकाण्ड घटिसकेको थियो ।
आज भन्दा २२ वर्ष पहिले २०५८ सालमा आजकै दिनमा नारायणहिति दरवार भित्र राजा वीरेन्द्रसहित उनका सम्पूर्ण परिवारको रहस्यमय हत्याकाण्ड भएको थियो । २२ वर्ष पहिले त्यो दिन थियो, २०५८ जेठ शुक्ल दशमीका दिनमा यो रहस्यमय हत्याकाण्ड हुन पुगेको थियो ।त्यो दिन थियो गंगा दशहरा ।
नेपाली जनताले पत्याउनै सकेनन्, कडा सुरक्षाका बीच दरवार भित्र एक जना दुई जनाको होइन, बीरेन्द्रको पुरै परिवारको छानी छानी हत्या गरिएछ । आज त्यही दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पुगेको छ । संसारै चकित हुने गरी वि.सं. २०५८ सालमा तिथिको हिसाबले जेठ शुक्ल दशमी र गतेका हिसाबले जेठ १९ भएको उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, नवयुवराज निराजन, अधिराजकुमारी श्रृतिलगायत राजा वीरेन्द्रको पुरै वंश नास हुने गरी हत्याकाण्ड भएको थियो ।
सो घटनामा राजा वीरेन्द्रका कान्छा भाई धीरेन्द्र, शान्ति, श्रद्धा तथा जयन्तीलाई पनि गोली हानी हत्या गरिएको थियो । राजा वीरेन्द्रको वंशै नास हुने गरी भएको घटना २२ वर्ष पुग्दासम्म पनि जनताले यसको चित्त बुझ्दो जवाफ पाउन सकेका छैनन् ।
दरवार हत्याकाण्ड पछि नेपालमा २०६२÷६३ सालको जनआन्दोलन भयो । देशमा संविधान सभाको निर्वाचन दुई दुई पल्ट भइसक्यो । देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भइसक्यो । दुई दुई पल्ट स्थानीय तहको साथमा प्रदेश र संघीय संसदको निर्वाचन भइसक्यो । सत्ताको नेतृत्वमा फेरबदल भइरह्यो ।
थुप्रै नेताहरु सत्तामा पुगे, मन्त्री, प्रधानमन्त्री भए । नयाँ दल र नेता सत्ताको नेतृत्वमा पुग्दा जेठ १९ गते आएपछि दरवार हत्याकाण्डको निष्पक्ष छानविन गर्ने प्रतिवद्धता जनाउँछन्, दरवार हत्याकाण्डको रहस्योद्घाटन गर्ने उद्घोष गर्छन् । तर आजको दिनसम्म्म पनि दरवार हत्याकाण्डको तथ्य रहस्यको गर्भमै लुकेर बसेको छ ।
नेपालको इतिहासमै कालो दिनको रुपमा चित्रित दरवार हत्याकाण्ड घटना पश्चात वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा भए । उनले छानविन समिति पनि गठन गरे । सर्वाेच्च अदालतका तत्कालिन न्यायाधिश केशव प्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय छानविन समिति गठन गरियो ।
छानविन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक पनि गर्यो। त्यो प्रतिवेदनले प्रेमको वियोगमा परेका युवराज दिपेन्द्रले नै उक्त हत्या गरेको भन्ने प्रतिवेदन त पेश ग¥यो तर उक्त प्रतिवेदनलाई नेपाली जनताले आजसम्म पनि स्वीकार्न सकेको छैन ।
व्यवस्था फेरीयो, जनताको हातमा देशको नेतृत्व आयो तर दरवार हत्याकाण्डको सत्यतथ्य भने अझै जनतामाझ उजागर हुन सकेको अवस्था छैन।
पूर्व राजा ज्ञानेन्द्रसँगै वा पछि पनि विभिन्न कालक्रममा दर्जनौं व्यक्तिहरुले प्रधानमन्त्री भएर सत्ताको बागडोर सम्हाले तर कसैले पनि उक्त रहस्यमयी हत्याकाण्डको गहन रुपमा छानविन भने गर्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बारम्बार ग्राण्डडिजाइनको संज्ञा दिइरहे तर घटनाको डिजाइन के हो, डिजाइनर को हो भन्ने कुरा खुलाउन सकेनन् ।
यदि उहाँसँग कुनै ग्राण्ड डिजाइनबारे कुनै जानकारी थियो भने त्यो रहस्य पनि उहाँसँगै विलिन भएर गयो । सो समयमा एकातिर संसदीय व्यवस्थाविरुद्ध माओवादी हिंसा चरम उत्कर्षमा पुगेको थियो भने अर्काेतिर सिंहरदबार केन्द्रित सत्ता, भ्रष्टाचार, अनियमितताको राज थियो ।
जनताहरु देशको राजनीतिप्रति अति नै निराश थिए । शासन÷प्रशासन राज्यको ढुकुटीमा रजाइँ गरिरहेका थिए । हुन त्यो रजाईँ आजको दिनमा पनि कायमै छ । २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्वहालीको माग गर्दै जनआन्दोलन हुँदा राजा वीरेन्द्रले जनतासँग सत्ता साझेदारी गर्ने निर्णय गरेका थिए ।
जसको कारण राजाप्रति आम नागरिकहरुको सम्मान अझ बढेको थियो । कट्टरवादी दरबारियाहरु कुनै पनि हालतमा सत्ता छोड्न नहुने पक्षमा रहेको अवस्थामा राजा वीरेन्द्रले आफू जनतासँग मिलेर सत्ता साभेदार हुने बाटो रोजेका थिए ।
तर दरवार हत्याकाण्डपछि जनतामाझ लोकप्रिय राजा वीरेन्द्रसहित उनको वंश नै नाश हुने गरी हत्याकाण्ड भएपछि जनताको व्यवस्थाप्रति नै विश्वास उठेको अवस्था भयो । ‘राजाले त्यस्तो कडा सुरक्षाबीचमै आफ्नै सुरक्षा गर्न सक्दैन भने जनताको सुरक्षा के गर्ला त ?’ यस्तै शंका जनतामाझ उठ्यो ।
दरवार हत्याकाण्डकै कारण जनतामा अविश्वास र निराशा पैदा भयो । यसैका कारण जनता व्यवस्था नै परिवर्तनका लागि सडकमा उत्रिए । व्यवस्था फेरीयो, जनताको हातमा देशको नेतृत्व आयो तर दरवार हत्याकाण्डको सत्यतथ्य भने अझै जनतामाझ उजागर हुन सकेको अवस्था छैन।
Categorized in विचार