समयमै आगो निभाउन नसक्दा पाँच वटा घर नष्ट
SamacharDesk | २०७८ फाल्गुण २१, शनिबार

आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु. डेढ करोड बराबरको धनमाल क्षति भएको छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८स्थित बजारमा सीता किराना पसलमा विद्युत सर्ट भई आगालागी हुँदा उक्त घटना घटेको हो ।
मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ ।
क्षति भएको विवरणमा स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आगलागी हुँदा पसलभित्र रहेको रु। २५ लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।
सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा रु।डेढ करोड बराबरको धनमाल क्षति भएको उहाँको भनाइ थियो ।
Categorized in समाज