arin enterprises

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय

SamacharDesk | २०७९ आषाढ ७, मंगलबार

सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । 

एसपीपीमा सहभागी हुन नेपालले नै प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको पूर्वसन्ध्यामा एसपीपीबारे बहस सुरु भएको थियो ।

उच्च क्षेत्रमा सैन्य अभ्यास गर्ने लगायतका विषय समावेश भएको ‘१० बुँदे मस्यौदा’ सार्वजनिक भएपछि यसको चर्को विरोध सडकदेखि सदनसम्म भएको थियो ।  

सत्तारुढ र विपक्षी सांसदहरुले विरोध गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले संसदलाई एसपीपीमा सहभागी नभएको र अब पनि नहुने स्पष्टीकरण दिएका थिए ।

नेपाली सेनाले पनि १ असारमा वक्तव्य जारी गर्दै एसपीपीम्बन्धी कुनै सम्झौता वा समझदारी नगरेको र गर्ने प्रक्रिया पनि नरहेको बताएको थियो ।

त्यस्तै सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्ले सात वटा निर्णय गरेका छन् । मन्त्री परिषदको बैठकको निर्णयलाई मंगलबार विहान सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन् । 

मन्त्रीपरिषद्ले नेपाल वायूसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्वन गरेको छ भने जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ ।

त्यसै गरी कोहलपुर– सुर्खेत १३२ केभि प्रशारण लाइन विस्तारका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । 

सबै सरकारी निकायहरुले कुटनीतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्य  रुपमा परराष्ट्र मन्त्रालय मार्फत् गर्ने निर्णय गरेको छ । 

नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ ।

त्यसै गरी रिक्त रहेको राष्ट्रिय समाचार समितिको अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ । 

 

Categorized in राजनीति