arin enterprises

वाकुपति नारायण मन्दिर परिसरभित्रका पाटी र ढुंगेधाराको उद्घाटन

SamacharDesk – विकाश | २०७७ आषाढ २७, शनिबार

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाकुपति नारायण मन्दिर परिसरभित्र हालै पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न विभिन्न सम्पदाहरुको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

नगर प्रमुख प्रजापतिले पुनर्निर्माण सम्पन्न उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख वाकुपति नारायण पाटी र द्यःपमि फल्चाको साथमा मर्मत सम्पन्न भएको वाकुपति नारायण दक्षिण सत्तलको पहिलो भुइँ र वाकुपति नारायण ढुंगेधाराकोको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुको पुनर्निर्माण तथा जीर्णोद्धार कार्य जनसहभागिता जुटाई उपभोक्ता समितिमार्फत गरिरहेको बताउनुभयो ।

 नाफाको निम्ति व्यापार गर्ने ठेकेदारहरुलाई सम्पदा जीर्णाद्धारको जिम्मा दिन नहुने बताउँदै प्रजापतिले भक्तपुरको ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा करिब ४ हजारभन्दा बढी नगरबासीहरुबाट जनश्रमदान प्राप्त हुनु गौरवको विषय भएको बताउनुभयो । 

साझा सम्पदाहरुको निर्माणमा सबैले साझा जिम्मेवारी बहन गर्नु आजको आवश्यकता भएको प्रजापतिको भनाई थियो ।

भक्तपुर नगरपालिकाले ३ वर्षको अन्तरालमा करिब १ सय भन्दा बढी सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको प्रजापतिले जानकारी गराउनुभयो ।

जीर्णोद्धार बाँकी रहेका भक्तपुरको कला संग्रहालय, अरनिको सभाभवन, भक्तपुर नगरपालिकाको पुरानो भवन लगायत पनि प्राप्त प्रमाणका आधारमा पुरानै शैलीमा बनाइने उहाँले बताउनुभयो ।

भक्तपुर नगरपालिका वडा ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वःले नयाँ पुस्तामा सामाजिक र नागरिक भावनाको विकास गराउँदै लानुपर्ने आवश्यकताबोध गराउनुहुँदै ज्येष्ठ नागरिकहरुको लागि आदरनिकेतन बनाउने योजना नगरपालिकाको रहेको बताउनुभयो ।

वाकुपति चाँगुनारायण तामा छाना पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीप्रसाद प्रजापतिले उपभोक्ता समितिमा बसेर काम गर्दाको अनुभव सुनाउँदै सम्पदा पुनर्निर्माणमा जनश्रमदानले निकै कम समय र कम लागतमा सम्पन्न भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाको वडा बजेटअन्तर्गत वाकुपति नारायण दक्षिण सत्तलको पहिलो भुइँ मर्मत रु. ५ लाख २० हजार ४ सय ८९ रुपैयाँमा सम्पन्न भएको थियो भने द्यःपमि फल्चा रु. १४ लाख ९७ हजार ८ सय ९७ रुपैयाँमा भएको थियो । 

त्यसैगरी उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख वाकुपति नारायण पाटी पुनर्निर्माण रु. १८ लाख २९ हजार २ सय ८० रुपैयाँमा भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

वाकुपति नारायण ढुंगेधारा मर्मत कार्य स्व. सरस्वती प्रजापति र इन्द्रप्रसाद प्रजापतिको ७७ हजार ४ सय ७८ रुपैयाँको आर्थिक सहयोगमा सम्पन्न भएको पनि बताइएको थियो ।

Categorized in स्थानीय