arin enterprises

अविरल वर्षाले काठमाडौंका विभिन्न स्थान डुबानमा

SamacharDesk | २०८१ श्रावण १६, बुधबार

गएराती परेको अविरल वर्षासँगै आएको बाढीका कारण देशभरको जनजीवन असर पारेको छ ।

हिजो राती परेको अविरल वर्षाले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्र डुबानमा परेका छन् । उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी किनार सडकमा सवारी आवागमन प्रभावित बनेको नेपाल प्रहरीले जानकारी दिएको छ।

जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा देशका २०८ मध्ये १८० वटा केन्द्रमा पानी परेको छ।

बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् भने  नदी किनारका सडक, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी पसेको कोठाहरुबाट पानी निकाल्ने प्रयास गरिरहेक छन् ।

नेपाल प्रहरीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ। काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो।

काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो। मौसम विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

यसैबीच काठमाडौँको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ ।

बाँके घर भई मृतक सुकुम्वासीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो । कालीमाटी प्रहरी वृत्तका अनुसार उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

मृतका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।

Categorized in राष्ट्रिय