arin enterprises

ठमेलबाट अवैध लागूऔषधसहित भारतीय नागरिक पक्राउ

SamacharDesk – क्राइम ब्यूरो | २०८० बैशाख ६, बुधबार

काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र मानिने ठमेलबाट अवैध लागूऔषध कोकिनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

ठमेलस्थित होटल याला पिकबाट १.०८ ग्राम कोकिनसहित भारतीय नागरिक ५१ वर्षीय रविन्द्र कुमार पाराशरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पाराशरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

होटलमा खानतलासीको क्रममा महिलाले बोक्ने झोलाभित्र फल्सबटम बनाई लुकाएर राखिएको अवस्थामा उक्त कोकिन फेला पारेको जानकारी प्रहरीले दिएको छ ।

थप अनुसन्धानको क्रममा पाराशरले उक्त झोला केनियाका नागरिक ६३ वर्षीया PILISILA WANJA NDIRITU महिलासँग लिएको भन्ने खुल्न आएको छ ।

PILISILA WANJA NDIRITU लाई पनि ठमेलस्थित होटल ट्राभलर्स होमबाट पक्राउ गरिएको छ ।

दुबै उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध