arin enterprises

नागरिकको सेवामा तल्लीन हुन प्रहरी महानिरीक्षक कुँवरको निर्देशन

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ कार्तिक ७, बुधबार

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा सबै प्रहरी कर्मचारीहरू तल्लीन हुन निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा बुधबार प्रहरी कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गरे ।

‘आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुनुहोस् । आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी अगाडी बढ्नु आवश्यक छ’ प्रहरी महानिरिक्षक कुँवरले भने ।

प्रहरी महानिरीक्षक कुँवरले विस्फोटक पदार्थ ओसारपसार नियन्त्रण लगायत अन्य आपराधिक क्रियाकलाप न्यूनिकरणमा समेत क्रियाशील हुन निर्देशन दिए ।

Categorized in समाज