आनन्दकुटीमा आइसोलेसन संचालन गरिने
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ कार्तिक २२, शनिबार

स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा आइसोलेसन संचालन गरिने भएको छ । काठमाडौं महानगरपालिका १५ वडाबासीका लागि उक्त बिद्यापीठको एउटा प्रयोगविहिन भवनलाई आइसोलेसनको रुपमा संचालन गर्न लागिएको हो ।
संघीय सांसद जीवनराम श्रेष्ठको नेतृत्वमा कामपा १५ वडाले आनन्दकुटी विद्यापीठलाई संक्रमण अवधिभरका लागि आइसोलेसन बनाउने योजना अघि बढाएको हो ।
विद्यापीठमा ५० शैय्याको आइसोलेसनको लागि तयारी शुरु भएको सांसद श्रेष्ठले जानकारी दिनुभयो ।
यसै सन्दर्भमा आज आनन्दकुटी विद्यापीठमा सरसफाई गरिएको छ ।
सांसद श्रेष्ठ, वडाध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगोलको साथै वडा सदस्य आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, सामुदायिक प्रहरी साझेदारी कामपा १५ का कार्यालय सचिव राजा शाक्य र वडाका स्वयंसेवक, स्थानीय मिलेर सरसफाइ गरेका हुन् ।
सरसफाई सम्पन्न भएपछि उक्त भवनको आवश्यक मर्मतसम्भार गरिने र बिजुली वाइरिङ पनि गरिने योजना रहेको छ ।
मर्मतसम्भार लगायतका निर्माण कार्यको लागि आफ्नो सांसद कोष प्रयोग गर्न लागेको सांसद श्रेष्ठले बताउनुभयो ।
‘नियम अनुसार सांसद कोष भौतिक क्षेत्रमा मात्र प्रयोग गर्न पाइन्छ, आइसोलेसनमा बस्ने बिरामीको लागि दैनिक खाना, डाक्टर, नर्स लगायतको पारिश्रमिक आदि जस्ता अभौतिक क्षेत्रमा सांसद कोषबाट खर्च गर्न मिलेन’ सांसद श्रेष्ठले भन्नुभयो । ‘यसको लागि इच्छुक दाताहरुसँग पनि छलफल भइरहेको छ ।’
उक्त आइसोलेसनमा हाइ फ्लो अक्सिजनको सुविधा समेतको व्यवस्था गर्न लागेको पनि उहाँले बताउनुभयो ।
आइसोलेसनमा विरामीलाई निःशुल्क सेवा दिइने तर सक्नेले सहयोग दिए आइसोलेसनको व्यवस्थापनको लागि सो सहयोग चन्दा स्वरुप लिन सकिने श्रेष्ठको भनाई हो ।
काठमाडौं महानगरको साथमा कामपा १५ वडाभित्र समेत दिनहुँ संक्रमितको संख्या बढ्दै गइरहेको र अस्पतालका आइसोलेसनहरु भरिन थालेपछि सांसद श्रेष्ठले स्थानीय स्तरमै आइसोलेसन बनाउने योजनालाई अघि बढाउनु भएको हो ।
यसै क्रममा हाल चिकित्सक, उद्योगी, समाजसेवी लगायतका व्यक्तिहरुसँग आवश्यक छलफललाई तीव्रता दिएको श्रेष्ठले समाचारडेस्कलाई जानकारी दिनुभएको छ ।
Categorized in समाज