परम्परा धान्दै गर्दा एक किलो चिनी किन्न पनि गाह्रो
SamacharDesk – आकाश राजोपाध्याय/रक्षण राजोपाध्याय | २०७७ कार्तिक २८, शुक्रबार

नेपालीहरुको दोश्रो महान चाड तिहार । दशैंको हर्षाेलास साथ नेपालीहरु तिहारको रौनकमा रमाउने गर्छन् । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन कागको पूजा गर्दै काग तिहारबाट शुरु हुने तिहारको मुख्य दिनको रुपमा कार्तिक कृष्ण औंशीदेखि कार्तिक शुक्ल द्वितीयाको दिनसम्मको तीन दिनलाई लिन्छ ।
कार्तिक कृष्ण औंशीको बेलुकी धनधान्यकी देवी लक्ष्मीलाई भित्र्याउँदै लक्ष्मी पूजा गर्ने गरिन्छ । तिहारमा फुल र बत्तीको झिलिमिलि यसै दिनबाट शुरु हुन्छ ।
यो दिनमा नेपालीहरुले पुरै घरलाई फुलमालाले सजाउँदै दियोको साथमा झिलीमिली बत्ति बाली घर आँगनमा मण्डप बनाई लक्ष्मीको आव्हान गर्ने गर्छन् ।
संस्कृतिको धनी समुदाय भनेर चिनिने नेवार समुदायमा लक्ष्मीपूजाको आफ्नै परम्परा छ । नेवारहरु यो दिनमा घर, खेत आदिको लालपूर्जा वा सम्पत्तिको विवरणका कागजातहरु आदिको साथमा नयाँ भित्र्याइएको धान समेत घरको ढुकुटी अथवा भण्डार कोठामा राखेर लक्ष्मीको पूजा गर्छन् ।
यहि क्रममा भकारीमा लक्ष्मीको हस्त लिखित चित्र टाँसेर पूजा गर्ने चलन छ । यसरी राखिने लक्ष्मीको तसबीर पनि बेग्लै हुन्छ । कुबेर, ख्याक आदिको साथमा भएकि उक्त लक्ष्मीलाई समाजमा नेवार लक्ष्मी समेत भन्ने गरिन्छ ।
‘अब मेसीनबाट छापिएको आधुनिक लक्ष्मी बजारमा छ्यापछ्याप्ती आउन थाल्यो, हामीले आफ्नै हातले लेख्ने लक्ष्मीहरु हराउन थाल्यो’ भक्तपुर याछेँकी चेतकुमारी चित्रकार भन्छिन् ।
चेतकुमारीले नेवार समुदायमा प्रयोग हुने चित्रहरु कोर्न थालेको साढे ४ दशक बढि भइसक्यो । चाडपर्व विशेष नागको चित्र, भगवती, गणेश, लक्ष्मी आदिको साथमा अष्टमंगल, विश्वकर्मा इत्यादि चित्रहरु कोर्ने गर्छिन् उनी ।
२१ वर्षको उमेरमा २०३१ सालमा उनको विवाह पूर्ण चित्रकारसँग भयो । त्यसपछि नै आफ्नो सासूसँग सिक्दै चित्रकला शुरु गरेको उनले बताइन ।
उनी पसलहरुबाट आएको माग अनुसार चित्र बनाउने र दिने गर्थिन् ।
चेतकुमारीको साथमा उनका श्रीमान पूर्ण चित्रकारले पुख्यौंली पेशा धान्दै आएका छन् । उहाँहरुलाई माहिलो छोरा राजेश चित्रकारले पनि साथ दिइरहेका छन् ।
विगत १० वर्ष यताबाट आधुनिक तसबीरहरुका कारण आफ्नो परम्परागत पेशामा ठूलो धक्का परेको उनी महसुस गर्छिन् ।
‘पहिला नाग पञ्चमीमा नागको तस्बीर बेचेरै एउटा पसलबाट करीब ४–५ रुपैयाँ आउने गर्दथ्यो तर अहिले त १ किलो चिनी किन्न समेत पैसा आएन,’ चेतकुमारीले भनिन् । ‘एउटा चित्र बनाउन आधा देखि १ घण्टा लाग्छ र त्यो अनुसारको पारिश्रमिक पनि छैन ।’
उनका श्रीमान पूर्ण चित्रकार भक्तपुरको बिस्काः जात्राको रथमा पनि चित्र कार्छन् भने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचमा प्रयोग हुने नवदुर्गाको मुकुण्डो समेत बनाउने गर्छन । यो काममा आउने पारिश्रमिक पनि निकै कम छ तर पनि आफ्नो पुख्र्यौली पेशा र परम्परा बचाउन मात्रै यो कामलाई निरन्तरता दिँदै आएको उनी बताउँछिन् ।
परम्परा त अहिलेसम्म धानिएको छ तर उनको मन भने खिन्न छ । आम्दानी कम मात्र होइन, छैन नै भन्नुपर्ने जस्तो स्थिती हुन थालेपछि अहिले आफ्नो दैनिकीमा समेत असर परेको छ । दैनिकी चलाउन, परिवार पाल्न गार्हो स्थिती हुने भएपछि परम्परालाई कतिसम्म धान्न सकिएला भन्ने प्रश्न पनि उब्जिएको छ ।
फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला
Categorized in संस्कृति