महानगरका अस्पतालहरुलाई बालेनको ताकेता
SamacharDesk | २०८० जेठ ३१, बुधबार

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरपालिका भित्र रहेका सबै प्रकृति र तहका अस्पतालले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरे र मापदण्ड पालना नगरे कारबाही गरिने चेतावनी दिएका छन् ।
मेयर बालेन शाहले आज सामाजिक सञ्जालमार्फत महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र गैरकानूनी ढंगबाट सञ्चालन भएको दुई वटा स्वास्थ्य संस्था बन्द गरिएको उल्लेख गर्दै स्वास्थ्य संस्थाहरुको अनुगमनलाई अझै सघन बनाउने बताउनु भएको हो ।
महानगरपालिकाको स्वास्थ्य विभागलाई सघन अनुगमन गरी स्वास्थ्य संस्था तथा अस्पताललाई कानूनी दायरामा ल्याउन स्पष्ट निर्देशन गरिएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
स्वास्थ्य संस्थाहरुको सुधारको विषय सस्तो लोकप्रियताका लागि नभएको भन्दै मेयर शाहले कानुनमा व्यवस्था भए अनुसार स्वास्थ्य सेवा सर्वसाधारण एवं लक्षित वर्गको पहुँचमा पुगोस भनेर अग्रसरता लिएको बताउनु भएको छ ।
उनले यसअघि १० प्रतिशत शय्याहरुमा विपन्न नागरिकलाई उपचारमा निस्शुल्क गर्नुपर्ने व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई बुझाएको विवरणका विषयमा पनि व्यावहारिक कार्यान्वयन नभएको जानकारी दिएका छन् ।
काठमाडौं महानगरपालिका भित्र रहेका सबै प्रकृति र तहका अस्पतालहरुले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगर्ने र कानून तथा मापदण्डको पालना नगरेको पाइएमा प्रदेश तथा संघीय सरकार मातहतका अस्पतालहरुमा पनि हस्तक्षेप गर्ने पनि मेयर शाहले प्रष्ट पार्नुभएको छ ।
Categorized in स्थानीय