arin enterprises

युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’ सूचीमा काठमाडौं

SamacharDesk | २०८० कार्तिक १४, मंगलबार

काठमाडौं सहर लाई राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले ‘फिल्मको रचनात्मक सहर’को रुपमा सूचीकृत गरेको छ ।

विश्व सहर दिवसको अवसरमा काठमाडौंसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा सूचीकृत गरिएको युनेस्कोले जनाएको छ ।

शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र संगीत गरी युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ सहर सूचीकृत गरेको हो ।

संस्कृति र सिर्जनालाई विकास रणनीतिको रुपमा आत्मसात गर्ने र मानव केन्द्रित सहरी योजनामा नवीन अभ्यास प्रदर्शन गर्ने प्रतिबद्धतासहित यी नयाँ सहरलाई सूचीकृत गरिएको युनेस्कोका महानिर्देशक अड्रे अजौलेले जनाएका छन् ।

युनेस्कोका अनुसार सूचीकृत नयाँ सहरले जलवायु परिवर्तन, बढ्दो असमानता र द्रुत सहरीकरणजस्ता विकसित खतराको सामना गर्न नेटवर्क सदस्यहरूसँग सहकार्य गर्ने छ । सन २०५० सम्म विश्वको ८० प्रतिशत जनसंख्या सहरमा बसोबास गर्ने उल्लेख छ ।

संस्कृतिमा पहुँच बढाउने, सहरी लचिलोपन र विकासको लागि रचनात्मकताको शक्ति बढाउने सन्दर्भमा हाम्रो क्रिएटिभ सिटीज नेटवर्कका सहरले नेतृत्वदायी भूमिका निर्वाह गर्ने युनेस्कोले जनाएको छ । 

काठमाडौं महानगरका मेयर बालेन शाहले यसअघि काठमाडौंलाई चलचित्रको रचनात्मक सहरको रुपमा विकास गर्ने बताएका थिए ।

Categorized in स्थानीय