arin enterprises

आ.ब. २०८०/८१ को मौद्रिक नीति सार्वजनिक

SamacharDesk | २०८० श्रावण ७, आइतबार

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको हो । आज आइतबार सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ ।

आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । हाल यो दर ७ प्रतिशत रहँदै आएको थियो ।

यस्तै राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ । नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने अल्पकालीन सापटीमा लागत कम पर्न जानेछ र ब्याज घटाउन बैंकहरूलाई दवाव पुग्नेछ ।

मौद्रिक नीति सार्वजनिक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणीको हकमा विशेष व्यवस्था गर्ने बताउनुभएको छ।

खासगरी प्राकृतिक प्रकोप वा अन्य कुनै पनि प्रकोपका कारण समस्यामा परेका ऋणीलाई माथि उकास्न तथा उनीहरूलाई पुनः व्यवसायमा सक्रिय बनाउनका लागि विशेष व्यवस्था गरिन लागेको उहाँले जानकारी दिनुभयो।

प्राकृतिक प्रकोपका कारण समस्यामा परेको, त्यसका कारण उद्योग तथा व्यवसाय धराशायी भएको, कालोसूचीमा परेको भए त्यस्ता ऋणीलाई  पुनः स्थापनाका लागि विशेष व्यवस्था गरिन लागेको गभर्नर अधिकारीको भनाइ छ।

गभर्नर अधिकारीले रु ५० लाखसम्मको शेयर धितोमा जाने कर्जाको ‘थ्रेस होल्ड’ घटाउन लागिएको जानकारी दिनुभयो। यसअघि रु २५ लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको जोखिम भार एक सय ५० प्रतिशत रहेकोमा उक्त व्यवस्था पुनरावलोकन गर्न लागिएको उहाँले जानकारी दिनुभयो।

उहाँले शेयर धितो कर्जाका सम्बन्धमा कुनै द्विविधा नराख्नसमेत आग्रह गर्नुभयो। यसैगरी राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारमा यसअघिको नीतिलाई निरन्तरता दिएको छ ।

यसअघि अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गा धितोमा कर्जा लिँदा फेयर बजार मूल्यको अनुपातमा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्था गरेको थियो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि यो नीतिमा कुनै परिवर्नत गरिएको छैन । घरजग्गा व्यवसायलाई अनुत्पादक मान्दै राष्ट्रबैंकले यसमा जाने कर्जामा कडाइ गर्दै आएको छ ।

घरजग्गा व्यवसायीहरुले घर जग्गा धितोमा कर्जा सीमा ७० प्रतिशत पुर्‍याउन माग गरेका थिए । तर, राष्ट्र बैंकले यसमा नीतिगत रुपमा कुनै सहुलियत दिएन ।

तर, पहिलो घर खरिद गर्ने सर्वसाधारणलाई भने मौद्रिक नीतिले केही सहुलियत दिएको छ ।

Categorized in बिजनेस