arin enterprises

नागको पूजाआज गरी नागपञ्चमी मनाईंदै

SamacharDesk | २०८० भाद्र ४, सोमबार

आज नागपञ्चमी । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।

चन्द्रमास अनुसार हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्चमीलाई नाग पञ्चमीको रुपमा मनाउने गरिन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

सनातन धर्मालम्वीहरुले आज घर घरमा नागका तस्वीर टाँसेर नागको पूजा गर्नुका साथै विभिन्न नागस्थानहरुमा पनि नागको पूजा गर्ने गरिन्छ । यस दिन विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको ढोकामा अष्टनागको पूजा गर्ने गरिन्छ ।

नागपूजाको प्रचलन कहिलेदेखि शुरु भयो भन्ने विषयमा विभिन्न खालका किंवदन्तीहरू रहेका छन् । वैदिक कालदेखि नै नागलाई सर्पका राजाको रूपमा पूजा गर्दै आएको हो भन्ने जनविश्वास रहेको छ ।

नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा  मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ ।

भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो ।

किंवदन्ती अनुसार गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो ।

गुरु आएको देखि गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ । संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् ।

श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ ।

आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह,  कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

Categorized in राष्ट्रिय