प्रकाशमानको प्रधानमन्त्री बन्ने चाहना
SamacharDesk | २०७९ श्रावण २२, आइतबार

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले फस्र्ट म्यान बनेर देशको विकास गर्ने चाहना राख्नुभएको हो ।
उहाँले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेको बताउनु भयो । उहाँले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताउनु भयो ।
नेता सिंहले जनतालाई अधिकार दिलाउने काम नेपाली काँग्रेसले गरेको उल्लेख गर्दै अबका दिनमा प्राप्त अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतीको अभियानमा काँग्रेसले नेतृत्व गर्ने बताउनु भयो ।
उहाँले देशमा प्रदूषणका कारण विभिन्न समस्या निम्तिरहेको भन्दै ग्रिन इनर्जी उत्पादनमा जोड दिनुपर्ने र हरित ग्यासकै माध्यमबाट देशमा विकासले फड्को मार्ने दाबी गर्नुभयो । नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको बताउनु भयो ।
उहाँले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाउनु भयो । नेता सिंहले सबै नेताको एकै किसिमको स्वभाव र चरित्र नहुने भन्दै एउटाले भ्रष्टाचार गरेको कुरामा सबै नेता त्यस्तै हुन् भन्न नमिल्ने जिकिर गर्नुभयो ।
Categorized in राजनीति