गणतन्त्र नेपालका उपलब्धीहरु
SamacharDesk – राम डंगोल | २०८० जेठ १५, सोमबार

आज जेठ महिनाको १५ गते, अर्थात गणतन्त्र दिवस ।
नेपालमा हजार बढि वर्षको राजतन्त्र र राजाको शासनको अन्त्य गर्दै २०६५ सालको जेठ १५ गतेका दिन नेपालमा गणतन्त्र स्थापना भएको थियो ।
शाहवंशको २३८ वर्ष र अझ त्यो भन्दा अगाडी हेरे,हजार, दुई हजार भन्दा बढि नेपालमा राजाको शासन चल्यो । गोपलवंश, महिषपाल वंश, किराँती, लिच्छवी, मल्लकाल हुँदै शाहवंशमा ज्ञानेन्द्र शाहसम्मले नेपालमा राजाको रुपमा राज्य गरे ।
`समयको चक्रसँगै नेपालमा पनि २०६५ सालमा राज परम्पराको अन्त्य गरीसंघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको थियो । २०६२/०६३ को आन्दोलनपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको आज १५ वर्ष पूरा भएको छ ।
वि.सं. २०७० भित्रमा देशमा दुई पटक संविधानसभाको निर्वाचन भयो । र निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्यो । त्यसपछि स्थानीय तह र संसदीय निर्वाचन पनि दुई पटक सम्पन्न गरिसकेको छ ।
२०७४ सालमा तीन तह संघ, प्रदेश र स्थानीय स्तरको निर्वाचन सम्पन्न गरिसकेको छ । यस बीचमा जनताले जुन आकांक्षा र अपेक्षाले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको स्थापनाका लागि आफ्नो जीवन बलिदान गरेका थिए, व्यवहारमा त्यस्तो देखिएको छैन ।
शासन व्यवस्थामा दलीय र त्यसमा पनि गुटविशेषको हालिमुहाली आज पनि कायमै छ । राज्य व्यवस्थामा इमान र आस्था बोकेकाहरुको भन्दा विचौलिया वर्गको पहुँच बढ्दा जनता छायाँमा परेको गुनासो निकै बढेको छ । सत्ताका लागि आफ्नै दल फुटाउनेदेखि सांसद नियन्त्रणमा लिनेसम्मका विकृति देखिएको छ ।
जसरी हुन्छ सत्तामा पुग्ने र शक्ति र सम्पत्ति आफु र आफ्नाको पहुँच केन्द्रित गर्ने एकसूत्रीय अभियान प्रमुख बनेको छ । भ्रष्टाचारका ठूला ठूला काण्डहरु ढाकछोप गर्दै दबाउन खोजिएको गुनासो पनि उत्तिकै छ । हालै मच्चिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री, मन्त्री, सचिव जस्ता उच्च पदस्थ व्यक्तिहरु नै मुछिनुले पनि नेपालमा भ्रष्टाचार कुन हदसम्म बढेको छ अनुमान लगाउन सकिन्छ ।
गणतन्त्रको मूल उपलब्धी भनेकै जनता आफैंले शासन चलाउन पाउनु नै हो । राजतन्त्रकालमा राजपरिवारमै जन्मिएका व्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाटमा हुर्किएका शाही सदस्य मात्र देशको राजा हुन पाउने व्यवस्था थियो ।समयको परिवर्तनले आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्र प्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् ।
सरकार तथा सरकारी तहबाट नीतिगत भ्रष्टाचार हुने तथा अन्तर्राष्ट्रियस्तरमै नेपालको बेइज्जत हुने खालका कामहरु जिम्मेवार व्यक्तिहरुबाटै भइरहेको छ। यस्तो काममा सरकारबाटै साथ र सहयोग रहेको आरोप समेत लाग्दै आएको छ ।
राज्यका स्रोत दोहनका लागि सत्तानिकट व्यक्तिहरुलाई खुलेआम छुट दिइएको छ । त्यसका लागि संविधान, कानून र विधिहरु ठाडै उल्लंघन भइरहन्छ । यस्तो प्रवृत्तिका कारण जनतामा निराशा र व्यवस्थाप्रति नै वितृष्णा छाउन थालेको देखिएको छ ।
तर वर्तमान परिवेशमा केही नयाँ आशाहरु थपिएको देखिन्छ । राजनीतिमा नयाँ जोश र जाँगर भएका युवाहरुदेशबनाउँछु भन्दै उत्रिएका छन् । युवाहरु नीति निर्माण तहमा पुग्नाले जनताले अब त केही परिवर्तन होला कि भन्ने आशा पनि पलाएको छ ।युवा नेतृत्चबाटबाट जनताले अहिले ठूलो आशा लिएका छन् ।
ती जनप्रतिनिधिहरुले पनि गणतन्त्रको मर्म र भावनालाई बुझेर देश विकास गर्ने बाटोतिर लम्कनुपर्छ । कसैको दबाब तथा लोभ लालचमा नपरी केवल जनताको भावना अनुरुप देश विकास गर्ने तर्पm लाग्नुपर्छ ।
जनताको आशा अहिले यहि हो । तर युवा नेतृत्वलाई पनि परिचालित, अपरिपक्व भएको, भ्रष्टाचार गरेको आदि प्रकारका आरोप नलागेको भने होइन । अहिले बल्ल फिल्डमा उत्रिएका युवाहरुलाई अहिले नै यस्तै भनिहाल्ने बेला पनि भएको छैन । युवाहरुले साँच्चिकैमा परिवर्तन ल्याउने हुन् वा पुरानै प्रवृत्तिको नयाँ लेबल मात्र हुनेछन्, त्यो उनीहरुकै काम र समयले बताउला ।
एउटा कुरा भने साँचो हो, अहिले युवाहरुलाई राजनीतिमा आउने, नेतृत्व लिने वातावरण गणतन्त्रले नै दिएको हो । गणतन्त्रले दिएको अवसरको सदुपयोग गर्दै, नेतृत्वमा आउने, गणतन्त्रकै विधिलाई पछ्याउने, गणतन्त्रले नै दिएको अधिकारमा टेकेर कुरा गर्ने र गणतन्त्रकै विरोध गर्ने प्रवृत्ति भने दोहोरो चरित्र हो भन्दा अत्युक्ति नहोला ।
व्यवस्था कुनै पनि नराम्रो होइन, मात्र यसलाई सबल र सक्षम नेतृत्वको आवश्यकता छ । आज नयाँ युवाहरुले जसरी अवसर पाएका छन्, त्यो अवसर वर्तमान व्यवस्थाले नै ल्याएको हो । त्यसैले भन्नैपर्ने हुन्छ, गणतन्त्रले अवसर ल्याएकै छ, सम्भावनाको आशा ल्याएकै छ ।
गणतन्त्रको मूल उपलब्धी भनेकै जनता आफैंले शासन चलाउन पाउनु नै हो । राजतन्त्रकालमा राजपरिवारमै जन्मिएका व्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाटमा हुर्किएका शाही सदस्य मात्र देशको राजा हुन पाउने व्यवस्था थियो । राजाको विरुद्धमा कसैले केही भन्न पाईँदैन थियो ।
राजा वा राजतन्त्र, राजसंस्थाको विरुद्ध कसैले बोले जेलनेल भोग्नुपथ्र्यो । समयको परिवर्तनले आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्र प्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् ।
व्यक्ति मननपरे उसलाई निर्वाचनमा अस्वीकार गर्ने र उसलाई नेतृत्व नदिने अधिकार जनतालाई दिएको छ । जोश, जाँगर, आँट र भिजन भए जो कोहीले पनि निर्वाचनमार्फत नेतृत्व लिन सकिने बाटो गणतन्त्रले दिएको छ ।
गणतन्त्र नेपालमा जनताले वाक स्वतन्त्रता पाएको छ । चाहे त्यो नेता, सांसद, मन्त्री तथा प्रधानमन्त्री नै किन नहोस्, चित्त नबुझेका कुराहरु बोल्न पाएका छन्, विरोध गर्न पाएका छन् । विसंगति, वेथितिको विरोध गरेकै भरमा जेल जानुपर्ने मुद्दा खेप्नुपर्ने परिवेशबाट भने छुटकारा मिलेको छ ।
नेपालमा गणतन्त्र घोषणा भए पश्चात राजनीतिक रुपान्तरणको लहर आएको छ। पहिले एकीकृत रुपमा रहेको शासन पद्धति विकेन्द्रित हुनुको मुख्य कारण गणतन्त्र नै हो। गणतन्त्र स्थापना भएपश्चात यो १५ वर्षमा सचेतना बढेको छ।
देश संघीय संरचनामा गइसकेपछि संघ, प्रदेश र स्थानीय तह सबल र सक्षम भएका छन् । त्यहाँ प्रतिनिधित्व गर्ने व्यक्तिमा पनि विविधता छ । सबै समुदायको प्रतिनिधित्व छ। यो पनि गणतन्त्रको प्रमुख देन हो। यस्तै शिक्षा, स्वास्थ्य तथा रोजगारीको अवसरको विषयमा आवाज उठ्नु पनि गणतन्त्रको सकारात्मक पक्ष हो ।
देशमा विभिन्न आयोगको स्थापना हुनु र यी आयोगले महिला, दलित, जनजातीको सवालमा आवाज उठाउन प्रेरित गर्नु पनि गणतन्त्रको उपलब्धिको रुपमा लिनुपर्ने हुन्छ। सबैलाई समेट्ने मिश्रित निर्वाचन प्रणालीमार्फत सबै समुदायको सबलिकरण गणतन्त्रको सकारात्मक पक्ष रहेको छ।
गणतन्त्र नेपालमा जनताले वाक स्वतन्त्रता पाएको छ । चाहे त्यो नेता, सांसद, मन्त्री तथा प्रधानमन्त्री नै किन नहोस्, चित्त नबुझेका कुराहरु बोल्न पाएका छन्, विरोध गर्न पाएका छन् । विसंगति, वेथितिको विरोध गरेकै भरमा जेल जानुपर्ने मुद्दा खेप्नुपर्ने परिवेशबाट भने छुटकारा मिलेको छ ।
अहिलेको विज्ञान र प्रविधिको समयमा त झन् प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता फराकिलो हुँदै गएको छ । सूचना तथा संचारकै क्षेत्रमा भन्ने हो भने पनि गणतन्त्र भन्दा अगाडी कुनै पत्रिका प्रकाशन गर्न पनि सरकारको निगरानीमै प्रकाशन गर्नुपर्ने बाध्यता थियो ।
रेडियो स्टेशनमा आरजे वा कार्यक्रम प्रस्तोताहरुले सेनाको निर्देशन अनुसार बोल्नुपर्ने अवस्थासम्म पनि संचारकर्मीले राजतन्त्रमा भोग्नुपरेको थियो । अहिलेको अवस्थामा संचार क्षेत्र पनि व्यवसायिक रुप लिई सयौं अखबारहरु, अनलाइनहरु, टिभी च्यानलहरु खोलिएका छन् । यसलाई पनि हामी गणतन्त्रकै उपलब्धी मान्न सक्छौं ।
यसबाहेक वहालवाला मन्त्री, सांसद तथा प्रधानमन्त्रीविरुद्ध समेत मुद्दा दायर गर्न सक्ने अवस्था रहेको छ । नक्कली भुटानी शरणार्थी काण्ड आउनुमा नेपालको बेइज्जत भयो भन्ने एउटा पाटो छ भने पुर्व उपप्रधानमन्त्री, पुर्व गृहमन्त्रीदेखि लिएर उच्च पदस्थ व्यक्तिहरु समेत कारवाही पनि पर्नु गणतन्त्रकै सकारात्मक पक्ष हो ।गणतन्त्र नहुँदो हो त यस्तो पनि हुने थिएन ।
तसर्थ नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपश्चात धेरै ठाउँबाट अवसर र सम्भावनाको ज्योति पनि देखाएको छ भन्न सकिन्छ । मात्र यहाँ सबल, सक्षम नेतृत्वको आवश्यकता हो ।
Categorized in विचार