arin enterprises

गणतन्त्र दिवस मनाईंदै

SamacharDesk – Ram Dangol | २०७९ जेठ १५, आइतबार

आज गणतन्त्र दिवस  । दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्य गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाईंदैछ । 

अघिल्ला वर्षहरुमा कोरोना महामारीको कारण गणतन्त्र दिवसमा औपचारिक रुपमा मनाईको थिएन । कोरोना महामारीका कारण आमजनताको स्वास्थ्य कसरी जोगाउने भन्ने त्रास बढेका बेला यस दिवसको रौनक नदेखिएको हो ।

२०६२र०६३ को आन्दोलनपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे यताको वर्षमा मुलुकमा २०७२ सालमा नयाँ संविधान, २०७४ सालमा तीन तह संघ, प्रदेश र स्थानीय स्तरको निर्वाचन सम्पन्न गरिएका छन् । यसको ठीक पाँच वर्षपछि भर्खरै मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । 

तर, जनताले जुन आकांक्षा र अपेक्षा गर्दै राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका थिए, व्यवहारमा त्यस्तो देखिएको छैन । शासन व्यवस्थामा दलीय र त्यसमा पनि गूटविशेषको हालिमुहाली चलाउने विकृति देखिएको छ ।

राज्य व्यवस्थामा इमान र आस्था बोकेकाहरुको भन्दा विचौलिया वर्गको पहुँच बढ्दा जनता छायाँमा परेका छन् । राजनीतिक विकृति घाँटी घाँटीसम्म आउने गरी बढेको छ । फगत सत्ताका लागि केन्द्रित गतिविधि भइरहेका छन् ।

सत्ताका लागि आफ्नै दल फुटाउनेदेखि सांसद नियन्त्रणमा लिनेसम्मका विकृतिको दलदल देखिएको छ । जसरी हुन्छ सत्तामा पुग्ने र शक्ति र सम्पत्ति आफू र आफ्नाको पहुँच केन्द्रित गर्ने एकसूत्रीय अभियान प्रमुख बनेको छ ।

कोरोनाबाट दैनिक सयौं व्यक्तिको मृत्यु भइरहँदा सरकारको नेतृत्वमा रहेकाहरुमाथि स्वास्थ्य सामग्री खरिददेखि खोपसम्ममा अनियमिततामा संलग्न भएको आरोप लाग्दा पनि छानबीन र कार्वाही प्रक्रिया चलेको छैन ।

भ्रष्टाचारका ठूला ठूला काण्डहरु त्यसै छोप्न खोजिएको छ भने राज्यका स्रोत दोहनका लागि सत्तानिकट व्यक्तिहरुलाई खुलेआम छुट दिइएको छ । त्यसका लागि संविधान, कानून र विधिहरु ठाडै उल्लंघन गर्न थालेका छन् ।

सर्वाेच्च अदालत जस्तो मुलुककै आस्थाको केन्द्र हुने निकायहरुमा राजनीतिकरण गर्नाले न्याय व्यवस्थामा समेत प्रश्न गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ । त्यस्तै हालसालै नियुक्त गरेका प्रहरी प्रशासन तथा मुलुकको सुरक्षा व्यवस्थाहरुमा समेत वरियतालाई मिचेर नजिकका र हाम्रा मान्छेलाई नियुक्त गर्दा जनताहरु निराश देखिएका छन् ।

तर भर्खरै मात्र सम्पन्न स्थानीय तहको निर्वाचनमा आएको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार तथा युवाहरुको उदय हुनुले जनतामा आशाको किरण देखिन थालेको छ ।

काठमाडौं महानगरपालिकामा बालेन शाह, सुनिता डंगोल, धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ, जनकपुर उपमहानगरमा मनोज कुमार साह, सुदुर पश्चिमको धनगढी उपमहानगरमा गोपाल हमाल जस्ता युवाहरुको उदय हुनुले वर्षाैंदेखि निराश भएका जनताहरु केही आशावादी हुन थालेको छ । 

तसर्थ आजका ती स्वतन्त्र तथा युवा नेताहरुले गणतन्त्रको मर्म र भावनालाई बुझेर देश विकास गर्ने बाटोतिर लाग्नुपर्छ । कसैको दबाब तथा लोभ लालचमा नपरी केवल जनताको भावना अनुरुप देश विकास गर्ने सक्यो भने जनताको विश्वास र आशा रहिरहन्छ नत्र “जुन जोगी आए पनि कानै चिर्ने” सिवाय केही हुने छैन ।    

 

Categorized in राष्ट्रिय