विहीबारदेखि एसईई परीक्षा सुरु
SamacharDesk | २०८० चैत्र १४, बुधबार

भोलि विहीबारदेखि यस वर्षको एसईई अर्थात् माध्यमिक शिक्षा परीक्षा सुरु हुँदैन ।
परीक्षा विहान ८ बजदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताउनु भयो ।
भोलि हुने परीक्षाको लागि सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले सबै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेको पनि जानकारी दिनुभयो । बोर्डले यस वर्षको परीक्षामा लेटर ग्रेडिङ प्रणाली लागू गरेको छ ।
विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकोमा बोर्डले यस वर्षदेखि एसईई परीक्षाको नतीजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने जनाएको छ ।
३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बोर्डले जनाएको छ ।
परीक्षाका लागि जम्मा दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ भने सबैभन्दा कम मनाङ, मुस्ताङमा एक–एक र सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै, यस वर्ष यस वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ । जापानबाट २३ बिद्यार्थी सहभागी हुनेछन् । जापानको परीक्षा केन्द्रको अनुगमन जापानस्थित नेपाली दूतावासले गर्नेछ ।
Categorized in राष्ट्रिय