‘काठमाडौं फिल्म फेस्टिभल’ अहिलेसम्मकै फरक चलचित्र महोत्सव
SamacharDesk – बिराज | २०८३ कार्तिक १५, शनिबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौँ फिल्म फेस्टिभल’ आफूले यस अघि सहभागिता जनाएका सबै फेस्टिभलमध्येकै नौलो भएको सहभागी कलाकारहरुले प्रतिक्रिया दिएका छन् ।
कार्तिक १३ गते वसन्तपुरमा सम्पदा पद यात्राबाट सुरु भएको फेस्टिभलको शुभारम्भ कार्यक्रममा सहभागी कलाकारहरुले डवली, चोक, मन्दिरका सिँढीमा प्रदर्शन गरिएका गायन, वादन तथा नृत्य हेरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
भारतीय चलचित्र क्षेत्रकी चर्चित वरिष्ठ अभिनेत्री सबाना आजमीले पनि आफु सहभागी भएको फेस्टिभलमध्ये यो मौलिक र सांस्कृतिक स्वादको रहेको बताइन् ।
‘भारतीय चलचित्र उद्योगमा विगत ५० वर्षदेखि आवद्ध छु । यस अवधिमा म सहभागी भएका सबै फेस्टिभलभन्दा यो मौलिक र सांस्कृतिक स्वादको छ’ अभिनेत्री सबानाको भनाई हो ।
प्रारम्भ सुन्दर ढङ्गले भएको फेस्टिभललाई कसरी दिगो बनाउने भन्ने चुनौती पनि रहेको बताउँदै सबानाले महानगरपालिकाले यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरिन् ।
सांघाई फिल्म एकेडेमी, फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरले यो महोत्सवलाई युवाहरुको फिल्म फेस्टिभल भनी व्याख्या गरे ।
‘यसका आयोजक सबै युवा देख्छु । सांस्कृतिक जीवन र हिमालय क्षेत्र भएको चलचित्र निर्माणको नयाँ आयाम जोड्ने लक्ष्य पनि नयाँ देखेको छु’ विशिष्ट प्राध्यापक मार्काे मुलरले भने ।
त्यस्तै वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्रको शक्ति ठुलो रहेको र यसबाट धेरै सन्देश दिन सकिने विचार राख्दै महानगरपालिकाले यतातिर ध्यान सुझाव दिए ।
अर्का वरिष्ठ अभिनेता हरिवंश आचार्यले पूर्खाहरुको कला, प्राचीनकालदेखि चल्दै आएका संस्कृति चलचित्र निर्माण र छायाङ्कनका लागि एक सिङ्गो स्टूडियो भएको बताउँदै यहाँ संसारले बुझ्ने चलचित्र निर्माण गर्न सके ऐतिहासिक काम हुने विचार राखे ।
काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, काठमाडौँका टोल, गल्ली र वस्तीलाई अन्तराष्ट्रिय क्षेत्रसँग जोड्न चलचित्र क्षेत्रमार्फत निरन्तर काम गरिरहने बताइन् ।
‘चलचित्रले मनोरञ्जन मात्र दिने नभई यसले कुनै बिषय, बस्तु, पात्र वा अवस्थाका बारेमा मानिसको सोचमा गहिरो दृष्टिकोण निर्माण गराउँछ । यही मान्यतालाई रचनात्मक उद्योगसँग जोडेर हामीले फेस्टिभल थालेका हौँ’ कार्यवाहक प्रमुख डंगोलले भनिन् । स
मृद्धिको मापन सूचकका विषयमा चर्चा गर्दै डंगोलले स्थानीय भाषा, कला, साहित्य र सिर्जनाको संरक्षण र पुस्तान्तरण हुनुपने विचार राखिन् ।
फिल्म महोत्सवको उद्घाटन सत्रको शुरुवात् सम्पदा यात्रा र खुला सांस्कृतिक कार्यक्रमबाट गरिएको थियो ।
जुद्ध शालिक क्षेत्रमा आमन्त्रित अतिथिलाई टीका लगाएर स्वागत गरिएको थियो । त्यसपछि टोलीलाई वसन्तपुर डवलीतर्फ लगिएको थियो ।
त्यसपछि गुरुजुको पल्टनको सांस्कृतिक वादन प्रस्तुति पछि अगाडि बढेको यात्रा जीवित देवी कुमारी दर्शनको लागि कुमारी घर पुगेको थियो ।
त्यसपछि गद्दी बैठक अगाडिको नारायण मन्दिरको सिँढी र माजु देगः मन्दिरको सिँढी साथै शिवपार्वती मन्दिरमा डवलीमा विभिन्न नृत्य, वाद्यवादन, नाटक लगायत सांस्कृतिक प्रस्तुतिहरु दिइएको थियो ।
Categorized in स्थानीय




