arin enterprises

‘भकुण्डे भूत’ लाई सर्ट भिडियो च्यालेञ्जको अवार्ड

SamacharDesk – बिराज | २०८३ कार्तिक १६, आइतबार

काठमाडौँ । काठमाडौं फिल्म फेस्टीभलमा जीवन सुनुवारबाट निर्देशित लघु भिडियो ‘भकुण्डे भूत’ले सर्ट भिडियो च्यालेञ्जको अवार्ड प्राप्त गरेको छ ।

काठमाडौं महानगरपालिकाबाट आयोजित काठमाडौं फिल्म फेस्टीभल अन्तर्गत यसै च्यालेञ्जमा अनुभव श्रेष्ठको निर्देशन रहेको ‘द सोल अफ गुठि’ले दोस्रो स्थान र सौगात सापकोटाबाट निर्देशित झीगु छेँ (मेरो घर) ले तेस्रो पुरस्कार जितेको छ ।

पहिलो, दोश्रो र तेश्रो पुरस्कार जितेको लघु भिडियोहरुले क्रमशः १ लाख ५० हजार रुपैयाँ, १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ जितेको छ ।

आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको अवार्ड समारोहमा कामपाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता विजय बराल र अभिनेत्री सुरक्षा पन्तले विजेताहरुलाई प्रमाण पत्र, पुरस्कार र अवार्ड प्रदान गरे ।

त्यस अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, युवा पुस्तालाई संस्कार, संस्कृति र परम्परा चिनाउन यस प्रकारको च्यालेञ्ज आयोजना गरिएको बताइन् ।

‘युवाहरुलाई काठमाडौँको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक सुगन्ध महसुस गराउने हाम्रो उद्देश्य हो । युवाहरुको सहभागिताले हाम्रो उद्देश्य सफल बनाएको छ ।’ डंगोलको भनाइ थियो ।

कामपाका प्रवक्ता साथै १७ वडाका वडाध्यक्ष नवीन मानन्धरले सिर्जनात्मक र नवप्रवर्तनका कार्यक्रमलाई फिल्मसँग जोडेर निरन्तरता दिइने बताए ।

महानगरपालिकाले अगाडि बढाएको कार्यक्रम कला क्षेत्रका लागि सुखद शुरुवात भएको विचार अभिनेता विजय बरालले राखे ।

अभिनेत्री सुरक्षा पन्तले, कला क्षेत्रको विकासमा युवाहरुको सहभागिता बढाउन काठमाडौँ महानगरपालिकाले थालेका कार्यक्रमलाई निरन्तरता दिँदै जानु पर्ने अपेक्षा राखिन् ।

समारोहमा नेपाल पानोरामाबाट छानिएका ९ वटा लघु चलचित्र हरेकलाई १ लाख रुपियाँ प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

नेपाल पानोरामा शीर्षकमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक दिनेश डी. सी., चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी, निर्माता, पटकथा लेखक सम्पदा मल्ल र ‘फिल्म क्रिटिक्स सोसाइटी अफ नेपाल’ लेखक तथा पत्रकार सामीप्यराज तिमिल्सिना निर्णायक थिए ।

सर्ट भिडियो च्यालेन्जका लागि चलचित्रकर्मी तथा निर्माता अनिल योञ्जन, नाट्य कलाकार तथा पत्रकार बैकुण्ठ भण्डारी, चलचित्रकर्मी तथा प्रशिक्षक प्रसुना डंगोल, युनेस्कोका सञ्चार विज्ञ रबिन राई तथा सहरी योजनाकार तथा सम्पदा संरक्षणकर्मी रीजा जोशी निर्णायक थिए ।

काठमाडौँ फिल्म फेस्टिभलका लागि सर्ट भिडियो च्यालेञ्ज अन्तर्गत ११ वटा सर्ट भिडियो छनोट भएका थिए ।

नेपाली पुराना चलचित्रहरुको सम्मानमा फेस्टिभल अन्तर्गत १९७० र ८० को दशकमा निर्माण भएका नेपाली रङ्गीन नेपाली कथानक चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’ को विशेष प्रदर्शनी गरिएको थियो । फेस्टिभलका विभिन्न कार्यक्रममध्ये ‘एलिफेन्ट्स इन द फग’ को विशेष प्रदर्शन गरिएको थियो ।

साथमा चलचित्र टोलीसँग चलचित्र अध्ययन गर्ने विद्यार्थी र पेशाकर्मीका बिचमा अन्तरसंवाद गरिएको थियो भने प्यानल डिस्कसन र सांघाइ विश्वविद्यालयका विशिष्ट प्राध्यापक मार्को मुलरको मास्टर क्लास पनि भएको थियो ।

यो लिंक पनि क्लिक गरी हेर्नुहोलाः ‘काठमाडौं फिल्म फेस्टिभल’ अहिलेसम्मकै फरक चलचित्र महोत्सव

Categorized in स्थानीय