arin enterprises

नेपालमा ९० प्रतिशत मानसिक स्वास्थ्योपचारबाट वञ्चित

SamacharDesk | २०८० कार्तिक २२, बुधबार

मंगलबारदेखि काठमाडौंमा दुईदिने १४औं सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलन सुरु भएको छ ।

सम्मेलनमा सार्क राष्ट्रमा मानसिक समस्याहरुबाट व्यहोर्नुपरेको क्षति, उपचारका उपायका बारेमा छलफल हुनेछ ।

सम्मेलनमा नेपालमा ९० प्रतिशत मानसिक रोगी मानसिक स्वास्थ्योपचारबाट वञ्चित भएको तथ्यांक सार्वजनिक गरेको छ । उनीहरुले सार्क राष्ट्रमा मानसिक स्वास्थ्यको उपचारबाट वञ्चित हुनेहरु करिव ८४ प्रतिशत रहेको बताए ।

उनीहरुले आत्महत्याको तथ्यांक हेर्दा एशियामा जनसंख्याको हिसावले सबैभन्दा धेरै भारतमा हुने गरेको बताएका छन् । मनोचिकित्सक डा. कमल गौतमले विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरु ८४ प्रतिशत रहेको बताउनु भयो ।

उहाँले नेपालमा करिव ९० प्रतिशत मानसिक रोगीहरु उपचारबाट वञ्चित रहेको बताउनु भयो । सम्मेलनमा मनोचिकित्सक डा. सरोज ओझाले कडा खालको मानसिक रोगको उपचार राज्यले गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै बनाउनुपर्नेमा अहिलेसम्म बन्न नसकेको बताउनु भयो ।

उहाँले आत्महत्या रोकथामको लागि राज्यले जनमानसमा जनचेतना फैल्याउने र पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श दिन आवश्यक रहेको बताउनु भयो ।

Categorized in समाज