नेवार समुदायले मनाउने ‘सिलाचह्रे’
SamacharDesk – राम डंगोल | २०८० फाल्गुण २५, शुक्रबार

नेवार समुदायले शिवरात्रीलाई ‘सिलाचह्रे’ चाडको रुपमा मनाउँदै आएका छन् ।
'सिला' नेपाल संवत् अनुसारको एक महिना हो । 'चह्रे' भनेको चतुर्दशी । चन्द्रमासको चौधौं रात सिलाचह्रे पर्छ ।
इतिहासविद्का अनुसार सिलाको वास्तविक अर्थ ‘दाउरा अथवा काठको महिना हुन आउँछ’ । त्यसैले सिलाचह्रेको दिन दाउरा, काठ जम्मा गरेर बेलुकी आगो बालेर त्यसैमा मकै भटमास आदिर भुटेर चाड मनाउने परम्परा रहेको छ।
यो चलन शिव धर्मसँग कुनै किसिमले सम्बन्धित नरहेको इतिहासविद्हरुको तर्क छ । पछि विस्तारै शिवरात्रीमा धुनी जगाउने र सिलाचह्रे एकआपसमा मिलेको देखिन्छ।
नेवार समुदायमा मध्यकालदेखि मात्रै शिवारात्रि प्रचलित हुँदै गएको इतिहासकारहरु बताउँछन्। त्यसअघि नै काठ र दाउरा बालेर जाडो भगाउने गरिएको उनीहरु बताउँछन्। यस दिनबाट जाडो कम हुने र गर्मी बढ्ने जनविश्वास समेत रहेको छ।
सातौं शताब्दीतिर पशुपति भक्त राजा अंशुवर्माको समयमा नेपाल भाषाको शब्द 'सिला'को संस्कृतीकरण भयो र शिवरात्रिको नाममा नेपालमा मात्रै होइन भारतमा पनि प्रचलित भयो।
सातौं शताब्दीभन्दा पहिले शिवरात्रिको उल्लेख कतै नपाइएको इतिहासविद्हरुको दाबी छ। शास्त्रिय दृष्टिकोणले भने शिवलिङ्ग पृथ्वीमा पहिलो पटक प्रकट भएको दिनलाई महाशिवरात्रिको रूपमा लिने गरिएको कथन रहेको छ।
नेवारहरु यसरी मनाउँछन् सिलाचह्रे
सिलाचह्रे चाड मनाउन टोल टोलमा विहानैदेखि चहलपहल सुरु हुन्छ ।
बालबच्चा, युवायुवतीहरु डोरी बाँधेर सडकमा बाटो छेकेर राती महादेवलाई प्रसाद चढाउन चन्दा उठाइन्छ । प्रचलित भाषामा 'जगात' उठाइने गरिन्छ ।
यसरी जगातबाट जम्मा भएको पैसाले बेलुका मकै, भटमास, हलुवा, पुरी आदि बनाएर शिवजीलाई चढाइन्छ र प्रसादको रुपमा सबै टोलवासीहरुलाई पनि बाँड्ने गरिन्छ ।
महाशिवरात्रीको रात महादेवलाई निकै जाडो हुन्छ भन्ने कथन छ। त्यसैले महादेवलाई जाडो हुनबाट बचाउन टोलभरीका युवाहरु जम्मा हुन्छन्। राति बाल्न काठ, दाउरा खोज्न बिहानदेखि तयारीमा जुटिन्छ।
यो दिन काठ चोरी गर्यो भने पाप लाग्दैन भन्ने विश्वास भएकाले जहाँ काठ देखियो त्यो ल्याएर राति बाल्न ठिक्क पार्ने समेत गरिन्थ्यो।
जब विस्तारै सन्ध्या हुन्थ्यो तब नेवार बाहुल्य बस्तीमा गीत गुञ्जिन सुरु हुन्थ्योः
महाद्यः त चिकुल, गनेद्यः त इकुल
हलिमली सिया छाय् , मिप्वा च्याका क्वाक्क याय्
(महादेवलाई जाडो भयो, गणेशलाई रिंगटा लाग्यो, मकैभटमास भुटेर चढाउँछु, आगो बालेर तातो बनाउँछु ।)
तिहारमा देउसी भैलो खेले झै युवाहरु सक्दो काठ, पैसा, मकै, भटभास माग्थे। नदिए महादेव रिसाउँछन् सम्म भन्थे
मि पनेत सिं निका हिं, बिगु खः सा याक्न ती, मखु खः सा लिहाँ वने, महाद्यः तँ वसा जिमिसँ मस्यु न्हा न्हाः
(आगो ताप्न दुई टुक्रा दाउरा देउ, दिने भए छिटो देउ, नदिने भए फिर्ता जान्छौं, महादेव रिसाए भने हामीलाई थाहा छैन है) भन्दै गीत गुञ्जिदै घरघरमा गएर माग्न जान्छन् ।
महाशिवरात्रिको दिन पानी पर्ने विश्वास छ। त्यसैले रातभर महादेवको आह्वानमा आगो बाल्ने, त्यही मकै भटमास भुट्ने, हलुवा बनाउने, टोल भरीका मानिसहरु भेला भएर धुनी जगाउने गरिन्छ ।
रातको समयमा धेरै स्थानमा एकै समयमा आगो बाल्ने भएकोले जाडोको महसुस नै हुन्नथ्यो। महाशिवरात्रीको रात यस्ता दृश्य काठमाडौंमा सामान्य हुन्थ्यो।
अहिले पनि यी गीतहरु नेवार बाहुल्य वस्तीहरुमा गुञ्जिन्छन्। शिवालय, मछिन्द्रनाथ, भीमसेन, गणेशका मन्दिरहरुमा धुनी जगाउने गरिन्छ।
बालबालिका र युवाहरु "महाद्यः यात चिकुल" भन्दै गीत गाउँदै गरेको देख्न सकिन्छ।
आजकाल यो चाड मनाउन अलि फरक भएको छ । पहिला पहिला चाड मनाउन काठ दाउराहरु चोरेर अथवा मागेर बाल्नुपर्छ भन्ने थियो । सायद उ बेला काठ दाउरा भनेको जसको पनि घर घरमा हुने र जसले पनि बाल्नलाई दिने भएर सजिलै उपलब्ध हुन्थ्यो ।
तर अहिलेको अवस्थामा काठ दाउरा प्रयोगमा कमी भएको कारण घरघरमा उपलब्ध हुन गाह्रो छ । जसको कारण चाड मनाउन चन्दा उठाएर काठ दाउरा किनेर राती शिवजी तथा गणेश भगवानको अगाडि आगो बाल्ने गरिन्छ र आगोको वरिपरि बसेर रातभर आगो ताप्ने र जाग्राम बसेर सिलाचह्रे चाड मनाइन्छ ।
Categorized in संस्कृति