arin enterprises

आयुर्वेदिक अस्पतालमा ५० बेडको आइसोलेसन संचालन हुने

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २३, बिहिबार

नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने भएको छ ।

आज काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितको टोली र अस्पताल व्यवस्थापन पक्षबीच भएको छलफलमा यस्तो निर्णय भएको हो ।

छलफलका लागि महानगर प्रमुख शाक्य, उपप्रमुख खड्गीको साथमा वडाध्यक्षहरु न्हुच्छेकाजी महर्जन, चिनीकाजी महर्जनसहितको टोली अस्पताल पुगेका थिए ।

सो अवसरमा प्रमुख शाक्यले महामारीको सामना गर्न अस्पतालसँग भौतिक संरचनाको साथमा जनशक्तिको प्रबन्ध भएकोमा यसलाई थप व्यवस्थित गर्न महानगरले सहयोग उपलब्ध गराउने बताउनुभयो ।

‘आइसोलेसनमा भएका विरामीलाई थप उपचार आवश्यक भए अस्पताल पठाउन र अस्पतालमा भर्ना भएका अक्सिजन थेरापी मात्र गरे पुग्ने विरामीलाई यता सार्न मिल्ने पद्धतिको आइसोलेसन बनाऔँ, यसबाट अस्पतालको चाप घटाउन सकिन्छ’ शाक्यले भन्नुभयो ।

अस्पतालका निर्देशक डा. प्रदीप के. सी.ले उपकरण तथा अन्य सामाग्रीको लागि र नियमित खर्च गर्नुपर्ने कामका लागि महानगरले स्रोत उपलब्ध गराए अस्पतालमा आइसोलेसन सञ्चालन गर्न सकिने बताउनुभएको थियो ।

‘अस्पतालको क्षमता ११८ वेडको हो, शुरुवातमा हामी ५० वेडबाट सेवा थाल्न सक्छौँ । आवश्यकताका आधारमा यसलाई विस्तार गर्न सकिन्छ’ निर्देशक केसीले भन्नुभयो ।

अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न १८ वडाका वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले संयोजन गर्नुहुने बताइएको छ ।

Categorized in समाज