arin enterprises

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाबाट थप रु १ करोड अनुदान

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ आषाढ १५, मंगलबार

काठमाडौ महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप रु एक करोड रुपैयाँ अनुदान दिएको छ ।

उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भइरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो ।

सो अवसरमा काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले काठमाडौ महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा रु ११ करोड ५० लाख उपलब्ध गराएको र करीब १२ करोडमा काम सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो ।

‘पुनर्निर्माणको काम ९० प्रतिशत बढी सम्पन्न भइसकेको छ, अब छिट्टै उद्घााटनको चरणमा पुग्नेछौं,’ शाक्यले बताउनुभयो । ‘समयमै काम सम्पन्न गर्न लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणलाई निरन्तरता दिदैँ आएका छौँ ।’

काठ अभावका कारण काममा सामान्य ढिलाई भएको तर अहिले त्यो समस्या पनि समाधान भैसकेको उहाँले बताउनुभयो । रौतहटलगायतका जिल्लाबाट काठ ल्याई हेटौडामा चिरान गरेर काठमाडौं ल्याउँदै आएको शाक्यले बताउनुभयो ।

सातौँ शताब्दीकै शैलीको प्रविधि प्रयोग गरेर काष्ठमण्डप पुनर्निर्माण भैरहेको र माटो, इँटा र काठ पनि पुरानै शैलीकै प्रयोग भएको जानकारी पनि शाक्यले दिनुभयो ।

०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो ।

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले सुरुमै ५० लाख दिएको थियो । पछि दुई पटक पाँच–पाँच करोड गरी महानगररपालिकाले अहिलेसम्ममा कुल रु ११ करोड ५० लाख उपलब्ध गराइसकेको छ ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताउनुभयो ।

Categorized in स्थानीय