त्रिपुरेश्वरबाट एरोसान हब स्मार्ट शौचालयको दोस्रो सेवा सुभारम्भ
SamacharDesk – बिराज | २०७९ फाल्गुण १, सोमबार

एरोसान सस्टेनेबल सेनिटेसनले निर्माण गरेको नयाँ सार्वजनिक शौचालयको उद्घाटन भएको छ ।
काठमाडौँ महानगर वडा ११ त्रिपुरेश्वरमा अवस्थित राहदानी विभागको गेटसँगै रहेको शौचालयको वडाध्यक्ष हिरालाल तण्डुकारले उद्घाटन गरेका हुन् ।
उद्घाटनमा बोल्दै वडाध्यक्ष तण्डुकारले आफू विदेश भ्रमणमा जादाँ देखेको शौचालयहरुकै स्तरको सार्वजनिक शौचालय निर्माण भएको बताए । यस्तै सेवामूलक संरचनाहरुको निर्माण गर्ने र निर्माणमा सहयोग गर्ने वडाको नीति रहेको पनि वडाध्यक्ष तण्डुकारले बताए ।
एरोसानको अत्याधुनिक सार्वजनिक शौचालयमा सेनिटेरी प्याडको उपलब्धता, बच्चाको डाइपर फेर्ने स्थान, महिला र पुरुषको लागि छुट्टाछुट्टै कम्पार्टमेण्ट, साबुन पानीको उपलब्धता, हात सुकाउने व्यवस्थालगायतका सुविधाहरु रहेका छन् ।
एरोसानको सार्वजनिक शौचालयमा आकासे पानीको संकलन गरी प्रयोगमा ल्याइन्छ । शौचालयबाट उत्पादन गरिएको बाँयो ग्याँसबाट चमेना गृहको संचालन गरिने पनि एरोसानले जानकारी दिएको छ ।
एरोसान सस्टेनेबल सेनिटेसनको अत्याधुनिक सार्वजनिक शौचालयका परिकल्पनाकार समाजसेवी तथा वातावरणवीध स्व. प्रकाश चन्द्र अमात्य हुन् । शौचालयको निर्माणकार्यको सुरुवात स्वर्गीय अमात्यले नै गरेको भएपनि उनले यसको समापन भने देख्न पाएनन् ।
केही समय अगाडी उनको हृदयघातका कारण अल्पायूमै निधन भएको थियो ।
त्रिपुरेश्वर मै एरोसानको यो दोस्रो सार्वजनिक शौचालय हो। स्वयम्भु, मंगलबजार, पाटन ढोका, परोपकार, बानेश्वोरलगायतका ठाउँहरुमा एरोसानले यस अघि नै सेवा प्रदान गर्दै आइरहेको छ ।
Categorized in स्थानीय