१३ बर्ष पछि तजेलुको ढाल निकालियो
SamacharDesk – बिराज | २०७९ आश्विन १६, आइतबार

पाटन तलेजुमा तलेजु (तुलजा) भवानी ‘कुहां बिज्याकेगु’ परम्पराको क्रममा १३ वर्षपछि मल्ल्कालीन ढाल पनि निकालिएको छ ।
बडा दशैंको सप्तमीको दिन, आज देवीलाई गर्भगृहबाट निकाली दशैं घरमा राख्न ल्याउने गरिन्छ । यसलाई स्थानीय नेपालभाषामा ‘द्यः कुहां बिज्याकेगु’ भनिन्छ । यसै क्रममा आज १३ वर्षपछि उक्त ढालसमेत निकालिएको हो ।
आज भवानीलाई दशैं घरमा लग्न दुईवटा खड्ग र दुईवटा देवीको मुखाकृति ल्याउने क्रममा सबभन्दा अगाडि मल्ल्कालीन ढाल राखिएको थियो ।
तुलजा भवानीको उक्त ढालको अवस्था जीर्ण रहेका कारणले विगत केहि बर्षदेखि ‘द्यः कुहां बिज्याकेगु’ गर्दा तल ल्याउने गरिएको थिएन । उक्त ढाल यस अघि अन्तिम पटक २०६६ सालमा तल ल्याइएको थियो ।
“यसको अवस्था निक्कै जिर्ण भएकोले ढालको प्रतिक स्वरुप ढालको एउटा किकिम्पालाई मात्र तल ल्याउने गरिएको थियो, आज भने ल्याइएको छ । यो अहिले पनि त्यस्तै जीर्ण अवस्थामै छ’ तलेजु पूजारी रक्षण राजोपाध्यायले समाचारडेस्कलाई बताए ।
ढाल मूल स्थानमा स्थापना गरेपछि फोटो खिच्न, सर्वसाधारणलाई देखाउन र बहिर ल्याउन नहुने चलन छ । यसै कारणले महानगरपलिका र गुठी संस्थान जस्ता सरकारी निकायलाई यसको अवस्था वोध गराउन नसकेर झन जीर्ण हुँदै गएको पूजारी राजोपाध्यायले बताए ।
‘यसलाई बडा दशैंको सप्तमीको दिनमा र असोज शूक्ल दशमीको दिनमा मात्र सर्वसाधारणलाई देखाउन मिल्ने परम्परा छ । आज फोटो खिच्न र सरकारी निकायलाई यसको अवस्थाबारे जानकारी दिन नै निकालिएको हो’ राजोपाध्यायले जोडे ।
यसको अवस्थाबारे सरकारी निकायलाई जानकारी गराई नयाँ बनाउने राजोपाध्यायको योजना रहेको छ ।
तुलजा भवनीलाई सप्तमीबाट चार दिन दशैं घरमा तल राखी पूजा गरिन्छ भने आश्विन शुक्ल दशमीको दिन फेरी गर्भगृहमै फर्काइन्छ, जसलाई द्यः थहां बिज्याकेगु भनिन्छ ।
