प्रहरी श्रीमती संघ र मेघा अस्पतालबीच सम्झौता
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७९ मङ्सिर २३, शुक्रबार

नेपाल प्रहरी श्रीमती संघ र मेघा अस्पताल प्रालिबीच स्वास्थ्य उपचार सेवामा छुटका लागि सम्झौता भएको छ ।
संघको कार्यालय भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रममा संघ र ललितपुर महानगरपालिका–३ धोबीघाटस्थित मेघा अस्पतालबीच सम्झौता भएको हो ।
सम्झौतामा संघकोतर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र अस्पतालकोतर्फबाट अस्पतालका अध्यक्ष किशोर जंग राणा र चिकित्सा निर्देशक डा.ईवराज सिम्खडाले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा बोल्दै संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षा, अपराध नियन्त्रण, प्राकृतिक प्रकोपसमेतमा आफ्नो ज्यानको परवाह नगरी सेवामा खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्याएको योगदानको कदर स्वरुप भएको सम्झौताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
अस्पतालका अध्यक्ष किशोर जंग राणाले नागरिक सुरक्षामा खटिने प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा लाभदायी हुने बिचार राखे ।
सम्झौता अनुसार अस्पतालले बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवाको साथै औषधीमा छुट प्रदान गर्ने बताइएको छ ।
साथै आर्थिक अवस्था कमजोर भई उपचार गराउन असमर्थ रहेको भनी सिफारिस भई आएमा वार्षिक ३ जनासम्म अस्पतालले निःशुल्क उपचारको समेत व्यवस्था गर्ने बताइएको छ ।
सम्झौता आगामी मंसिर २३ गतेदेखि कार्यान्वयन भई २०८४ मंसिर २२ गतेसम्म ५ वर्षका लागि लागू हुनेछ ।
Categorized in समाज