arin enterprises

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न महानगर र संयुक्त एम्बुलेन्स चालक संघविच सम्झौता

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख १६, बिहिबार

अस्पताल जानुपर्ने कोभिड संक्रमण नभएका विरामीलाई निःशुल्क अस्पताल ल्याउन लैजान काठमाडौं महानगरपालिका र संयुक्त एम्बुलेन्स चालक संघविच आज सम्झौता भएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र संघकातर्फबाट अध्यक्ष गोवर्धन सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

निषेधाधाको अवधिमा विरामी र उनका परिवारलाई पर्ने असहज परिस्थितिलाई सजिलो बनाउन यस प्रकारको सम्झौता गरिएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।

‘महानगरको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाले कोभिड संक्रमण भएका विरामीलाई निःशुल्क रुपमा अस्पताल पुर्‍याउनेछन् भने संक्रमण नभएका विरामीलाई आज सम्झौता गरिएका एम्बुलेन्सले अस्पताल लैजाने छन्’, प्रमुख शाक्यले भन्नुभयो, ‘महानगरबासीलाई पर्न सक्ने स्वास्थ्य समस्याको पूर्वअनुमान गरेर हामीले सेवा थालनी गरेका हौँ ।’

महानगरले दिएको जानकारी अनुसार सेवामा हृदयाघात, क्यान्सर, मृगौला रोग र आकस्मिक सेवाका लागि अस्पताल जानु पर्ने बिरामीलाई पहिलो प्राथमिकता दिइनेछ । यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुबिधा दिइनेछ ।

सेवा महानगरको भौगोलिक सिमानाको २ किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हुने भनिएको छ ।

सेवावापत महानगरले १५ दिनका लागि प्रति एम्बुलेन्स १ लाख २१ हजार रुपैयाँ शुल्क भुक्तानी गर्ने भएको छ । यसवापत् संघले १५ दिनका लागि २४ सै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ । शुल्क महानगरले भुक्तानी गर्ने भएकोले विरामीसँग एम्बुलेन्स सञ्चालकले थप शुल्क माग्न वा मोलमोलाइ गर्न नपाइने महानगर प्रमुख शाक्यले भन्नुभयो ।

सम्झौताबमोजिम राष्ट्रिय सभा गृह, ट्रलीबस परिसर, वडा ३ कार्यालय परिसर महाराजगञ्ज, वडा १५ परिसर स्वयम्भू र वडा ७ कार्यालय परिसर मित्रपार्कमा २/२ वटा एम्बुलेन्स २४ सै घण्टा तैनाथ हुनेछन् ।

सहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरकाअनुसार २४ सै घण्टा तैनाथ रहने यी एम्बुलेन्सले कुनै प्रकारको प्राविधिक त्रुटी वा समस्या देखाउन र मोलमोलाइ गर्न पाउनेछैनन् ।

महानगरले संयुक्त एम्बलेन्स चालक संघसँग सम्झौता भएपछि अब एम्बुलेन्सका चालकसँग सिधा सम्पर्क गरेर सेवा लिन सकिने भएको छ ।

महानगरको हटलाइन ११८० वा एम्बुलेन्स चालकको सिधा सम्पर्कबाट सेवा उपलब्ध हुने महानगरले जनाएको छ । कोभिड संक्रमित विरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सकिने बताइएको छ ।

Categorized in स्थानीय