सिपमूलक तालिम सञ्चालन गर्न एकै पटक २३ वटा कलेजसँग सहमति
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८० फाल्गुण २४, बिहिबार

काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले सिपमूलक तालिम सञ्चालन स्थलका लागि सरकारी र निजी गरेर २३ वटा क्याम्पसहरुसँग सहमति गरेको छ ।
आज बिहिबार विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गर्दै कार्यक्रम स्थलको लागि सहमति गरिएको हो ।
सम्झौताबमोजिम कलेजहरुले तालिम संचालन गर्न कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछ ।
प्रशिक्षक, जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ । यसका लागि कलेजहरुले महानगरपालिकामा लागत अनुमान भने पेश गर्नुपर्नेछ ।
सम्झौताको अवसरमा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरको योजनामा सामाजिक उत्तरदायित्व वहन गर्दै कलेजहरु सँगै उभिनु सुखद कुरा भएको विचार राखिन् ।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले सिपमूलक तालिम लिनका लागि अहिलेसम्म करिब १० हजार व्यक्तिको आवेदन प्राप्त भइसकेको र सूचना प्रविधिमा आधारित तालिममा धेरै व्यक्तिहरुको चासो देखिएको जानकारी दिए ।
विभागका निमित्त प्रमुख कोइरालाका अनुसार बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) व्यक्तिलाई सबैलाई तालिमको अवसर प्रदान गरिनेछ ।
महानगरपालिकाले महानगर गौरवको रुपमा चालु आर्थिक बर्षदेखि १० वटा योजना कार्यान्वयनमा ल्याएको छ ।
यीमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम एउटा हो । यसै कार्यक्रम अन्तर्गत रोजगारमूलक सिप विकास तालिम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।
कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराइने सामाजिक विकास विभागले बताएको छ ।
१५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने कार्यक्रमको लक्ष्य महानगरपालिकाले लिएको छ ।
कम्प्युटर हार्डवेयर नेटवर्किङ् र सीसीटिभी क्यामरा जडान, सफ्टवेयर डेभलपमेन्ट, इलेक्ट्रिसियन एण्ड प्लम्बिङ्, सिलाइ कटाइ र फेसन डिजाइनिङ्, कन्स्ट्रक्सन लेवर र मिस्त्री लगायत विभिन्न विधामा महानगरपालिकाले तालीम संचालन गर्न लागेको छ ।
चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको यो कार्यक्रममा सहभागी हुन गएको असोज २२ गते सार्वजनिक सूचनाबाट इच्छुक व्यक्तिहरुलाई फाराम भर्न आव्हान गरिएको छ ।
अनलाइन फाराममा आफूले तालिम लिन चाहेको विधा छान्न सकिन्छ । अनलाइनमा पहुँच नहुनेका लागि अन्य विधाका तालिम लिन वडा कार्यालयमा गएर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ ।
Categorized in स्थानीय