टीकापुर जग्गा घोटालामा अख्तियारबाट २४९ जना विरुद्ध मुद्धा दर्ता
SamacharDesk | २०८० माघ २६, शुक्रबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजपत्र बनाएर सरकारी जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।
कैलालीको टीकापुरको नगर विकास समितिका तत्कालिन तीन जना अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगर विकासका लागि अधिग्रहण गरिएको ३० विगाह सरकारी स्वामित्वको जग्गालाई नगर विकास समितिका समितिका तत्कालिन अध्यक्ष नेत्रप्रसाद जोशी, तत्कालिन पदाधिकारीहरु, सदस्यहरु, विभिन्न दलका नेता तथा कार्यकर्तालगायत विरुद्ध अख्तियारले मुद्धा दर्ता गरेको हो ।
आयोगमा उक्त जग्गा घोटालाविरुद्ध दुईवर्षअघि उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान गर्दा अनियमितता गरेको देखिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
आयोगले समितिका तत्कालीन अध्यक्षहरूमध्ये नेत्रप्रसाद जोशीलाई दुई करोड १२ लाख ४० हजार, ललित ताम्राकारलाई ५९ लाख तीन सय र अर्का अध्यक्ष धिजराज रेग्मीलाई ६६ लाख ९८ हजार आठ सय रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरेको छ ।
त्यस्तै समितिका तत्कालीन योजना प्रमुख बलबहादुर कडायत, झप्परसिंह विश्वकर्मा, अम्बादत्त जोशी, समितिका कर्मचारी धनीराम भण्डारी, नेत्रबहादुर रावल, देवीलाल घिमिरे, नापी कार्यालय टीकापुरका नापी अधिकृत मानबहादुर चन्द, नापी अधिकृत गणेशबहादुर बम, मालपोत अधिकृत जयबहादुर विष्टविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
नक्कली कागजात तयार गरी जग्गा लिएका ११० जना, जग्गा लिएर मृत्यु भइसकेका सात जना, जग्गा लिएर दाखिला नगरी अर्कैलाई बेचेका चार जना, नक्कली कागजातका आधारमा जग्गा लिएकाबाट किनेका तर अहिले जग्गा छाडन नचाहेका १०७ जनालाई पनि आयोगले प्रतिवादी बनाएको छ ।
Categorized in अपराध