arin enterprises

देशभर भारी वर्षा सर्तक रहन महाशाखाको अनुरोध

SamacharDesk | २०८० श्रावण २३, मंगलबार

काठमाडौं उपत्यका लगायत देशका अधिकांश भू–भागमा मङ्गलवार बिहानै देखि भारी वर्षा सुरु भएकाले नदी र खोलाहरुमा बाढी आएको छ ।

बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले बाढी, पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ । विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ ।

वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, वाग्मती गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका  केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उता महाशाखाले बर्दियामा बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको भन्दै सतर्क रहन अनुरोध गरेको छ । बर्दियाका रम्भापुर, सानोश्री चेपाङ, औरही खोला गोदना केन्द्रमा अत्यधिक वर्षा भईरहेकाले ती क्षेत्रमा बाढीको खतरा रहेको महाशाखाले जनाएको हो ।

दाङका लमही र लालमटिया तथा बाँकेको कुुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै, राप्ती नदीको जलसतह पनि दाङ र बाँकेमा निकै बढेपछि महाशाखाले एसएमएस पठाएर सतर्क रहन अनुरोध गरेको छ । नेपालमा अहिले मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ ।

Categorized in राष्ट्रिय