भक्तले चढाएको सामग्री बेचेपछि पशुपति विकास कोषको चौतर्फी आलोचना
SamacharDesk – बिराज | २०७९ आश्विन २८, शुक्रबार

पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरमा चढाइएका सामग्रीको विक्रि वितरण सुरु गरेपछि यसको चौतर्फी आलोचना हुन थालेको छ ।
२०७२ सालको विनाशकारी भूकम्प पछि बन्द भएको विक्रि कक्ष विकास कोषले गएको कोजाग्रत पूर्णिमाको दिनबाट फेरी सुरु गरेको हो । सो विक्रि कक्षमा भक्तजनले पशुपतिनाथलाई चढाएका सामग्री र कोषले प्रकाशन गरेका पुस्तकहरु विक्रि वितरण गरिने बताइएको छ ।
यसरी कोषले भक्तजनले चढाएका सामग्री विक्रि गर्न थालेपछि यसको चौतर्फी आलोचना सुरु भएको छ । प्रायले यसरी विकास कोषले आम नागरिकलाई लुट्न खोजेकोसम्म आरोप लगाएका छन् ।
विक्रि कक्ष सुरुवात भएको जानकारी विकास कोषले सामाजिक संजालमा पोस्ट गरेपछि विकास कोषले लुट र ठगी मच्चाएको भन्दै सबैले आलोचना गर्दै कमेन्ट गरिरहेका छन् ।
तन्त्र चर्चा परिवारका संयोजक सन्दीप सापकोटाले पनि कमेन्ट गरेर कोष लुटेर नपुगेर शिवको प्रसाद बेच्न थालेको भन्दै आक्रोश पोखेका छन् ।
‘सम्पदा विकासको नाममा स्थानीय प्राचीन सभ्यताका नेवाः बस्ती, संस्कार, कला, जात्रा, जाती हटाई बाहुनको लागि कमाउ धन्दा गर्ने व्यापार बनेको छ – पशुपतिनाथ’ सकिपा नेपाल नामक आइडिले लेखेको छ ।
त्यस्तै मधुसुदन खनालले भगवानको प्रसादमा विचार गर्न र प्रसादकै रुपमा बाँड्न सुझाव दिएका छन् । त्यसैगरी पूजा पुडासैनीले भक्तले किनेर चढाएको सामग्री फेरी भक्तलाई नै बेच्नी भन्दै प्रश्न राखेका छन् ।
खिल चन्द्रले चढाए बापत पैसा आउने हो र भन्दै व्यङ्गात्मक प्रश्न राखेका छन् ।
मछेन्द्र शंकर श्रेष्ठले लेखेका छन्, ‘यो पशुपति क्षेत्र बिकाष कोष पशुपतिको बिकास गर्न आको कि ब्यापार ? प्रसाद भनेको त सबै लाई बाड्ने पो हो त बिक्री गर्ने हो त, मान्छेको लासमा त जलाउने ठाउँको त पैसा लिन नछाड्नेले पशुपतीनाथको प्रसादको ब्यापार गर्न के छोड्ला त !!!! लुट्न सके लूट पशुपतिमा नै रैछ छुट ।’
Categorized in समाज