arin enterprises

काठमाडौँमा ५० प्रतिशतसम्म घट्यो फोहोरको मात्रा

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २०, सोमबार

काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ ।

सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पुर्‍याउने गरेकोमा आज १३ वटा गाडी मात्र पठाउने तयारी रहेको विभागले जनाएको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार व्यवसायिक क्षेत्रमा फोहोरको मात्रा धेरै घटेको छ भने सडकमा जम्मा हुने फोहोर ५० प्रतिशतसम्म घटेको छ ।

घरघरमा उत्पादन हुने फोहोरको मात्रा ३० प्रतिशतसम्म घटेको वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालको भनाइ छ ।

‘होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएकाले धेरै फोहोर उत्पादन हुने ठाउँ घटेको देखिए पनि घरघरबाट उत्पादन हुने फोहोरको मात्रा भने धेरै घटेको छैन’ दाहालको भनाइ छ ।

यता फोहोरमैला व्यवस्थापन संघको अनुमान भने अलि फरक छ । संघका महासचिव मीत्र घिमिरेकाअनुसार बाहिर बन्द भएकाले मानिसहरुले घर, आँगन सफा गर्दा निस्किएको फोहोर आएको छ जुन अवस्था सधैँ हुँदैन । त्यसैले अहिलेभन्दा फोहोरको मात्रा घट्ने सम्भावना छ ।

उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘वडा ३, ४ र ७ बाट पहिले दैनिक ८ ट्रिपर फोहोर संकलन हुने गरेकोमा अहिले ६ ट्रिपर मात्र संकलन भइरहेको छ, यो पनि घट्ने क्रममा छ ।’

कोभिड संक्रमिण होम आइसोलेसनमा बसेका घरहरुको फोहोर कसरी व्यवस्थापन हुन्छ, प्रश्नमा दाहाल भन्नुहुन्छ, ‘पहिलेभन्दा अहिले अवस्था फरक छ, कुन घरमा कोभिड संक्रमित हुनुहुन्छ, थाहा हुन्छ । उहाँहरुसँग कुरा गरेर विरामीले उत्पादन गरेको फोहोर ननिकाल्न आग्रह गर्छौँ ।’

महानगरले जैविक फोहोरलाई कम्पोष्टिङ् गर्न र घरमा कोही संक्रमित भए त्यहाँबाट उत्पादन भएको फोहोर निसंक्रमण गरेर व्यवस्थापन गर्न आग्रह गरेको छ ।

घरेलु फोहोरसँगै महानगरले सडक सफाइका लागि नियमित ब्रुमर सञ्चालन गरिरहेको छ, सडकबाट संकलन हुने धुलोको परिमाण पनि घटेको छ, पहिले सवारी साधनले उत्पादन गरेको धुलो हुन्थ्यो, अहिले पानी र हावाले ल्याएको धुलो छ’ विभागका प्रमुख श्रेष्ठको भनाइ छ ।

Categorized in स्थानीय
SKIP THIS Maharjan Complex booking ad